Awareness

श्रीमान विदेशबाट फर्केको भोलिपल्ट श्रीमतीको रहस्यमय मृत्यु

खबर प्रमुख खबर

Place for ads

प्रेम सुनार, गुल्मी: दशैंको बेला भारतमा रहेका श्रीमान टुप्लुक्क घर आएपछि अर्घाखाँचीको जुकेना कल्लेरी गाउँकी २४ वर्षीया लक्ष्मी नेपालीमा खुशीको सिमा थिएन। तर , खै किन हो उनको त्यो खुशी १२ घण्टा पनि टिक्न सकेन।

सितगंगा नगरपालिका-६ मा पर्दछ त्यो टोल। असोज २६ गते राति करिब ११ बजेको समयमा उनका श्रीमान गणेश नेपाली भारतको चण्डीगढबाट घर आउँछन्। उनकै शब्दमा राति डेढ दुई बजेसम्म खानपिन , हाँसो–ठट्टा गरेर बस्छन्। त्यस पछि सबै मिठो निद्रामा पर्छन्।

Get Vaccinated

बिहान करिब ४ बजेको समयमा उनकी श्रीमती लक्ष्मी सदा झैँ गाई भैसीलाई कुँडोफाँडो गर्न बाहिर निस्किन्छिन्। बिहान अबेरसम्म नआए पछि उनकी आमाले बुहारी खोज्छन थाल्छिन्। उनी निद्रामा हुन्छन्। आमाले नभेटाए पछि खबर गर्छिन र उनी उठ्छन् र आफ्नी बहिनी सहित उनलाई खोज्दै हिड्छन्।

अलिपर जाँदा रुखमा नाम्लाको पासो लगाएर मृत फेला परेको नेपाली बताउँछन्। उनी भन्छिन्, ‘जिवितै भएकोले पासो काटेर सुरुमा भैरहवा लगियो, त्यहाँ डाक्टर नभएपछि बुटवल ल्याइयो। २७ गते राति करिब सवा १२ बजेको समयमा उनको बुटवलको त्यही अस्पतालमा मृत्यु भएको हो।’ उनले त्यस अस्पतालको नाम झट्ट जान्न नसकेको बताए।

उनको त्यो भनाइलाई माईती पक्षले एकरत्ती पत्याउन सकेका छैनन्। जिल्ला कै भूमिकास्थान नगरपालिका-९, ठूला डेवा बुडिचौर निवासी मृतक लक्ष्मीका बाबु ओमबहादुर नेपाली छोरीको हत्या नै भएको आशंका गर्छन्। २७ गतेका दिन ज्वाँईले रुखो वचन बोल्दै पैसा पठाउन भनेको उनले बताए।

‘म भारतमा थिएँ, ज्वाँईले म भैरहवामा छु तपाइँकी छोरीको नाक र मुखबाट रगत बगेको छ, छोरी बचाउने भए २५ हजार आइसी पठाई दिनुस् भनेर भने। मैले अहिले रातीका कसरी पठाउँ भोलि पठाउँला भने। त्यसको अर्को दिन बिहान तपाईकी छोरीको मृत्यु भयो भनेर सुनाए।’ उनका अनुसार ज्वाँईकी भान्जीको विवाह गराई दिएको बहानामा श्रीमति संग ज्वाँई रुष्ट थिए।

Awareness by SKF

उनकी भान्जी फकाएर विवाह गराई दिएको उनकी आमाले कुरा लगाई दिइछन्, त्यस पछि ज्वाँईले उता आमाको फोन काटेर मलाई फोन गर्दै तपाईंकी छोरीले मेरी भान्जीलाई पोइला लगाई दिइछ, अब म घर गए पछि तपाईंकी छाृेरीलाई मार्दिन्छु भनेर धम्काएका थिए।’ उनले भने, ‘मेरी छोरीलाई मारेकै हुनु पर्छ।’

ज्वाँईबाट छोरीको मृत्युको खबर पत्याउन नसकेका ओमबहादुर ठाडा प्रहरी चौकीले खबर गरे पछि मात्र उनी भारतबाट हिँडे र आफु नआएसम्म छोरीको शव नउठाउन आग्रह गरे। जिल्ला अस्पताल सन्धिखर्कमा ३ दिनसम्म लक्ष्मीको शव राखियो र गत आईतवार दाहसंस्कार गरिएको छ।

प्रहरीले भिसरा परिक्षण संगै निष्पक्ष छानविन गर्दछौं भने पछि शव उठाउन दिएका हौँ। बाबु ओमबहादुरले भने, ‘निष्पक्ष छानविन होस्।’ अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीसंग घटनाको तेश्रो दिन सम्पर्क राख्दा पोष्टमार्टम रिर्पोट आएपछि सत्यतथ्य पत्ता लाग्ने र घटनाको सुक्ष्म रुपमा अनुसन्धान हुने बताउँदै थिए।

२४ वर्षको उमेरमा तीन जनासँग विवाह तर बनेन कतै घर
लक्ष्मीको पहिलो मागी विवाह १५/१६ वर्षकै उमेरमा अर्घाखाँची मै भएको थियो। पहिलो श्रीमान जाँड रक्सी सेवन गर्ने गरेपछि ६ महिना मै घर छाडेर माइती कै सरणमा बस्न बाध्य भएकी थिइन्। त्यस पछि दोश्रो विवाह गरिन्। भारत मै रहेका दोश्रो श्रीमान पनि उस्तै परि दिए। उनीबाट एक छोरा र एक छोरी जन्माइन्।

COVID-19

श्रीमानले काम नगर्ने भौतारिदै हिँड्ने गरेपछि बाबु ओमबहादुरले खान बस्नको व्यवस्था गरिरहे। त्यसपछि छोरी अर्घाखाँची स्थित माईती मै फर्किन बाध्य भइन्। यहि क्रममा डेढ बर्ष अघि सामाजिक सञ्जाल मार्फत हालका श्रीमान गणेश नेपालीसँग सम्बन्ध नजिक हुन थाल्यो।

उनी भारतमा थिए। बाबु ओमबहादुरले भने, ‘फेसबुकमा कुरा गर्दागर्दै उनले कृष्ण नगरसम्म बोलाएछन् र मेरी छोरीलाई लिएर आएछन्। ६ महिना पछि विवाह गरें, बाबा भनेर फोन गरेर थाहा दिएकी हुन्।’

यी पछिल्ला तेश्रो श्रीमानबाट जन्मेका ८ महिनाका छोरा छन। संगै पूर्व पति तर्फकी अन्दाजी ८ वर्षकी छोरी र ४ बर्षका छोरा रहेको बाबु नेपालीले बताए। बिहीबार उनका ज्वाई गणेश नेपाली संग फोनमा कुराकानी गर्दा आमा विहिन बनेका ति नाबालकहरुले ड्याडी.. ड्याडी भन्दै रुन्चे स्वर लगाउँदै थिए। लक्ष्मीको मृत्युले विशेष गरि ति ८ महिने दुधे बालकको बिचल्ली भएको छ।

श्रीमती र आफू बीच निकै राम्रो सम्बन्ध रहेको र आउनका दिन कुनै किसिमको विवाद नरहेको गणेश नेपालीको भनाई छ। लक्ष्मीका बाबु ओमबहादुर भन्छन्, ‘अस्पतालमा गएर छोरीको शव हेर्दा टाउको पछाडि चोट थियो। आधा जिब्रो काटिएको थियो।

उनको मृत्यु घटना निकै रहस्यमय छ।’ उनले दशैंको बेला ज्वाँई घर जाने भए पछि छोरी सहित सबैलाई गनीगनी दशैंको दक्षिणा, कपडा लत्ता पठाएको तर छोरीले त्यो दक्षिणा र सरसमानहरु पनि लिन नपाएको प्रति विलौना पोखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *