कपिलवस्तु: कपिलवस्तुको महाराजगन्ज नगरपालिका-४, बरइपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको थियो। तीमध्ये ३५ जनालाई थप उपचारका लागि भैरहवास्थित विभिन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर, १९ जनाको मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ। गम्भीर घाइते हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेका छन्।
दुर्घटनामा बस चालक सुर्खेतका ३० वर्षीय डिल्लीप्रसाद दाहाल, सहचालक राजन बुढासहित अधिकांश यात्रु घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
बसमा सवार यात्रुहरू सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, बाँके, झापा, काठमाडौं, ललितपुर र ओखलढुंगालगायत जिल्लाका रहेको प्रहरीले जनाएको छ।
प्रहरीले १२ जना घाइतेलाई आफ्नै सवारीमार्फत उद्धार गरेको थियो भने अन्यलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको जनाएको छ। दुर्घटनापछि सकुशल रहेका यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










