बागलुङ: लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन स्थानीयले दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ। बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरिएको जग्गामा निर्माण गरिएको आधुनिक बसपार्क अहिले नियमित सञ्चालनमा आएको हो।
बागलुङ नगरपालिका–४ दाबगरामा निर्माण सम्पन्न भएको बसपार्कबाट अहिले लामो तथा छोटो दुरीका सवारी साधनहरू छुट्न थालेका छन्। यसअघि निर्माण सम्पन्न भएको चार वर्षपछि मात्र उद्घाटन गरिएको बसपार्क लामो समय निष्क्रिय रहेको थियो।
नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएपछि नियमित रूपमा बस चल्न थालेको हो। त्यसपछि २०५८ सालमा जग्गा दिएका स्थानीयहरू खुसी भएका छन्।
नगरपालिकाका अनुसार आर.बी. कन्स्ट्रक्सन पोखरा लाई २५ वर्षका लागि बसपार्क सञ्चालन तथा सेवा शुल्क संकलनको जिम्मा दिइएको छ। उक्त कम्पनीले उक्त अवधिमा रु. ८ करोड ५५ लाख ६१ हजार १ सय ७२ नगरपालिकालाई भुक्तानी गर्ने सम्झौता भएको छ। जसअनुसार हरेक वर्ष करिब रु. १६ लाख २५ हजार नगरपालिकाले प्राप्त गर्नेछ।
नगरप्रमुख बसन्त कुमार श्रेष्ठ का अनुसार पुरानो चिप्लेटी बसपार्क बन्द गरी सबै टिकट काउण्टरहरू नयाँ बसपार्कमा सारिएपछि सञ्चालन सहज भएको छ। बसपार्क सञ्चालनसँगै नगरपालिकाको आन्तरिक आय बढ्ने उनले बताए।
कुल १७ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको बसपार्कमा सुविधा सम्पन्न भवन, २३ वटा सटर, ३ वटा टिकट काउण्टर, ५ वटा शौचालय र इभी चार्जिङ स्टेशन को स्थान समेत निर्माण गरिएको छ। सटरहरूको भाडा रु. ३,५०० देखि १०,००० सम्म तोकिएको छ।
सम्झौता अनुसार पार्किङ शुल्क रात्री बसका लागि रु. २०० र मोटरसाइकलका लागि रु. १० तोकिएको छ।
बसपार्क निर्माणका लागि नगरपालिकाले रु. ९ करोड खर्च गरेको थियो, जसको अधिकांश रकम नगर विकास कोषको ऋणमार्फत जुटाइएको हो।
२०५८ सालमा स्थानीयले नगरपालिकालाई ५९ रोपनी जग्गा दिएका थिए, जसमध्ये १७ रोपनीमा बसपार्क निर्माण गरिएको हो। बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









