गुल्मी, असोज २९: गुल्मीको साविक मुसिकोट गाविसका पुर्व उपाध्यक्ष अर्जुन सिंह ठकुरीको आज बिहान बुटवलमा निधन भएको छ। हालको मुसिकोट नगरपालिका-२, दलुङ्ग निवासी सिंहको ६७ बर्षको उमेरमा आज बिहान बुटवलको कृष्टमस अस्पताल बुटवलमा निधन भएको पारिबारिक श्रोतले जनाएको छ।
उहाँका साईला भाई दुर्गा सिंह ठकुरीका अनुसार सुगर र मुटुको चेक गराउन भनी आज बिहान हृदयाघातबाट निधन भएको हो। यही असोज २२ गते उहाँ सुगर र मुटुको चेक गराउन भनि बुटवल हिँड्नु भएको थियो। त्यस कृष्टमस अस्पतालमा चेक गर्दा कुनै असर नरहेको बताए पछि ढुक्क भएर बुटवलको निवासमा फर्किनु भएको थियो।
तर आज बिहान एक्कासी उहाँ मृत प्राय ढले पछि सोहि अस्पतालमा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए। २०५४ सालमा मुसिकोट गाविस अध्यक्षमा निर्वाचित उहाँ त्यस भेगकै चर्चित समाजसेवीका रुपमा क्रियाशील हुनुहुन्थ्यो।
भञ्ज्याङ् भराह जलजले अमराई देउराली मोटर बाटो लैजाने समाजसेवी मध्ये उहाँ पनि एक हुनुहुन्थ्यो। पानीको हाहाकार थियो साविक मुसिकोट र बडागाउँ गाविसमा। निस्तिखोलाको शिरबाट मुसिकोट र बडागाउँमा पानी झार्ने समाजसेवी मध्येका एक पात्र सिंह ठकुरी मुसिकोट बडागाउँ खानेपानी योजना र दरमखोला लघुजलविधुत योजना मुसिकोटका अध्यक्ष समेत हुनुहुन्थ्यो।
दलुङ्गमा रहेको जनज्योति प्राविका अध्यक्ष रहनु भएका ठकुरी त्यहाँका दर्जनौँ संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो। त्यस भेगमा राजनैतिक वा अन्य जटिलता आई पर्दा उहाँको सहजीकरण समाधानको कोशेढुङ्गा सावित हुने गरेको स्थानीय अगुवा समाजसेवीहरु बताउछन।
नेपाली काङ्ग्रेस गुल्मी जिल्ला कार्य समिति सभापति खिलध्वज पन्थीका अनुसार उहाँ साविक मुसिकोट गाविसको पार्टी सभापति सहित विभिन्न जिम्मेवारीमा रहनु भएको थियो। उहाँका पिता रुद्र बहादुर सिंह पनि पञ्चायतकालका जनप्रतिनिधि हुनुहुन्छ। उनै ९२ बर्षिय पिताले मुख देख्ने चाहना अनुसार उहाँको शव घर ल्याउदै गरिएको भाई सिंहले बताउनु भयो।
पाँच भाई मध्ये अर्जुन सिंह जेठा छोरा हुनुहुन्थ्यो। उहाँका श्रीमति, एक छोरी र दुई छोरा हुनुहुन्छ। अत्यन्तै मिलनसार, मृदुभाषी सिंह ठकुरीको निधनले सिङ्गो मुसिकोट नगरपालिका शोकाकुल बनेको छ। त्यस वडाका वडाध्यक्ष रविन्द्र केसीले उहाँको निधनको दु:खद खबरले आफुहरु मर्माहत भएको बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









