Clean Water Campaign

Awareness Campaign

‘मलाई नाम होइन, पहिचान बनाउनु छ’



वासुदेव पोखरेल
२ महिना अगाडि


Awareness

Place for ads

नाम त जन्मिँदै पाइन्छ, तर पहिचान? त्यो त जीवनले लेख्ने आत्मकथा हो।

नाम कसैले राखिदिन्छ, तर पहिचान आफ्नै पाइलाले बनाउनु पर्छ। यही आत्मनिर्भर यात्रामा छु म — जहाँ चिल्ला सडकहरू छैनन्, तर स्पष्ट उद्देश्य छ। जहाँ चकचके चर्चाको मोह छैन, तर कर्म र मूल्यको सम्मान छ। मलाई ठूलो नाम होइन, गहिरो अर्थ बोकेको जीवन–पहिचान बनाउनु छ।

आजको समाजमा हजारौँ नामहरू छन् — फेसबुकमा, युट्युबमा, समाचारमा । तर तीमध्ये कति जना छन् जसलाई कर्मले चिनिन्छ? म चाहन्छु, मेरो परिचय बोलिले होइन, योगदानले देखियोस्। पद वा प्रचारको पछि लागेर बनाएको नाम त क्षणिक हो, तर इमानदार कर्मबाट बनाइएको पहिचान समयभन्दा बलियो हुन्छ।

सिंचाई
Forest
Ad.

देशका असंख्य युवाहरू सपनाको भारी बोकेर विदेश जान्छन् । म भने गाउँमै बसेर सपना जिउन खोज्दैछु । मैले देखेको पहिचान सहरको शोभामा होइन, माटोको गन्धमा छ। मैले मञ्चमा भाषण गर्ने भन्दा खेतमा पसिना बगाउने सपना देखेको छु। मलाई विश्वास छ — देशको रूपान्तरण माइक्रोफोनबाट होइन, माटो समाएर काम गर्दा हुन्छ।

म रेडियोमार्फत आवाजको खेती गर्छु, गीतमार्फत चेतना रोप्छु, सिर्जनाले समाजको मन छोइदिन्छु। यी सबै प्रयासहरूको एउटै उद्देश्य छ — नाम कमाउने होइन, पहिचान बनाउने । किनभने वास्तविक पहिचान त्यो हो, जुन पुरस्कारले होइन, जनसमर्थनले बनिन्छ।

म सकारात्मक सोचलाई आफ्नो ईन्धन बनाएको छु। जब कोही भन्छ — “यहाँ केही हुँदैन”, म भन्छु — “यहाँ केही गर्न सकिन्छ।” निराशाले थिचेको देशमा आशाको उज्यालो बोकेर हिँड्नुपर्ने जिम्मेवारी हामी युवाहरूको काँधमा छ। आज म सानोतिनो योगदान दिँदैछु, भोलि त्यसले ठूलो प्रभाव पारोस् भन्ने कामना राख्छु।

काठमाडौंबाट गाउँ फर्किँदा धेरैले सोधे — “तपाईंको लक्ष्य के हो?” मैले सधैं एउटै उत्तर दिएँ — “मलाई पद होइन, प्रभाव चाहिएको हो। मलाई प्रचार होइन, परिवर्तन चाहिएको हो। मलाई नाम होइन, पहिचान बनाउनु छ।”

Awareness by SKF

गाउँमै बसेर सिर्जना गरिरहँदा मैले महसुस गरेको छु — साँचो शक्तिको मूल स्रोत यही समाज हो। त्यसैले म समाजलाई फर्काउन चाहन्छु: आशा, चेतना र योगदान।

आज म भन्न चाहन्छु — म नाम होइन, काम हुँ। मेरो मूल्य नामले होइन, कर्मले आँकियोस्। पहिचान भनेको त्यो हो जुन कागजमा होइन, जनताको हृदयमा लेखिन्छ। नाम सँगालेर राखिन्छ, तर पहिचान समयको इतिहासमा अमर हुन्छ।

त्यसैले म दिनरात काम गर्दैछु, लेख्दैछु, सिक्दैछु,
किनभने मलाई नाम होइन, पहिचान बनाउनु छ।

लेखक गुल्मीको सामुदायिक रेडियो धुर्कोटका स्टेसन म्यानेजर तथा चर्चित गीतकार समेत हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो