गुल्मी: दुई पटक सम्म ढलानका क्रममा भाँचिएको गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत पर्ने बडिगाड खोला झेँदी स्थित मोटरेबल पुल तेस्रो पटकमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउँ र वडा नम्बर ७ को वामी जोड्ने झेँदीको पुल झण्डै दश वर्ष पछि डिजाइन परिवर्तन गरी निर्माण सम्पन्न भएको हो।
स्विस सरकारको ५ करोड १७ लाख ५० हजार ६६५ रुपैयाँको लागतमा जलप कन्ट्रक्सन कम्पनीले जिम्मा पाए संगै भर्खरै मात्र पुल निर्माणको काम सम्पन्न गरेको हो। उक्त पुल पछिल्लो पटक २०७९ वैशाख महिनामा निर्माण सम्झौता भएको थियाे। सम्झौता अनुसार निर्माणको काम सम्पन्न भएको इन्जिनियर श्रीराम प्रजापतिले बताए।
निर्माण गरिएको पुल स्टील ट्रस कम्पोजिट ब्रिज हो। पुलको लम्बाई ५७.३ मिटर रहेको छ। नेपालमा यस्ता खालका पुलहरु कमै निर्माण हुने इन्जिनियर प्रजापतिले बताए। पक्की पुल बनाउन समस्या भएको ठाउँमा मात्र यस्ता खालका पुलहरू निर्माण भएको पनि प्रजापतिले बताए।
सोही पुलको निर्माण २०७३ सालमा तत्कालिन जिल्ला कार्यालयले सुरु गरेको थियो। त्यस बेला वाईटी जय बुद्ध कन्ट्रक्सन कम्पनीले ५ करोड १७ लाख लागतमा सम्झौता गरेको थियो। पुल निर्माण अन्तिम चरणमा पुग्दा ढलानको क्रममा भाँचिएको थियो। उक्त पुल २०७६ साल वैशाखमा पहिलोपटक र २०७७ सालको वैशाख महिनामा दोस्रोपटक पनि भाँचिएपछि पुल बन्नेमा अन्योलता छाएको थियो।
दुई-दुई पटक पुल भाँचिदा व्यवसायीहरुले पनि करोडौँको घाटा बेहोर्नु परेको थियो भने स्थानीय र सरोकारवालाहरुले पनि पुल बन्ने आशा मारिसकेका थिए। तर अहिले भने मुसिकोट नगरपालिका, वडा नं. ३ र ७ का स्थानीयवासीहरुले पुल निर्माण भएर खोला वारपार गर्न सहजता थपिए संगै अब यो ठाउँले पनि विकासको मुहार फेर्ने आशा पलाएको बताए।
पुल बन्ने आशामा कैँयौँको घर जग्गा जोखिममा पारेर सडक निर्माण गरिएको थियो। पुल निर्माणमा मुसिकोट नगरपालिकाले पनि प्रदेश केन्द्र सरकार संग पटक-पटक कुरा उठाउदै आएको नगर प्रमुख जीवलाल खरेल जीवनले बताए। हामी सबैको चासो चिन्ता र दौड धुपका कारण पनि तीन पटकमा पुल बन्न सफल भएको उनले बताए।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |