पछिल्ला केही दिनहरुमा रुद्रावती बहुमुखी क्याम्पस वामीटक्सार गुल्मीका विभिन्न घटनाक्रमलाई लिएर मुसिकोटको सिंगो राजनैतिक प्रणाली, यहाँको नेतृत्व प्रति निकै आलोचना भईरहेका छन्। घटना त्यतिबेला देखि सुरु भएको मानिन्छ जतिबेला उक्त क्याम्पसका एक प्राध्यापकले विद्यार्थीलाई दुर्व्यवहार गरेको घटना बाहिरियो। यो घटनाको जड यसलाई मानिएपनि यो विभिन्न घटनाक्रमपछि आएको एउटा मोड मात्रै हो।
कुनै पनि सार्वजनिक संस्था अझ त्यसमाथि पनि शैक्षिक संस्थाको नेतृत्व खुल्ला प्रतिष्प्रधाबाट हुनुपर्ने हो । तर बिडम्बना राजनैतिक भागबण्डामा अल्झिएको यो प्रणालीले ती संघसंस्थाहरु दुरावस्थामा पुग्ने स्थित सिर्जना हुने गरेको छ । रुद्रावतीको हकमा पनि त्यही नै हो । वामीका संघसंस्थामा यहाँका दलहरुले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा नेतृत्व बाँडफाँड गर्ने प्रचलन पुरानै हो । पछिल्लो क्याम्पसमा देखिएको घटनाले यहाँका राजनैतिक दल, यहाँको नेतृत्व वर्गको असक्षमता, र राजनैतिको फोहोरी खेलको नांगो नाच देखाएको छ ।
रुद्रावती क्याम्पस मुसिकोटकै गहना हो । क्याम्पसकै कारण यहाँको साख बिग्रनु हुँदैन । तर क्याम्पस जोगाउने भन्दा पनि यहाँका दललाई आफ्ना मान्छे भर्ती गराउने, कसलाई लडाउने, कसलाई चढाउने भन्ने मात्रै चिन्तन छ । सकारात्मक चिन्तन क्याम्पस प्रति हुन्थ्यो भने यो विषय पहिले नै हल भईसक्थ्यो । कोही व्यक्ति प्रति चित्त नबुझेकै कारण, कोही व्यक्तिले गलत गरेकै कारण सिंगो संस्थाको गतिविधि नै प्रभावित पार्ने गरी क्रियाकलाप गर्नु किमार्थ सुहाउँदैन । यी विषयले यहाँका टाउकेहरुको हैसियत प्रष्ट पारेको छ ।
पछिल्ला गतिबिधिहरु प्रति सामाजिक सञ्जालमा यतिसम्म टिकाटिप्पणी हुँदा पनि यहाँका गन्नेमन्ने, क्याम्पस प्रशासन र सरोकारवालाहरु साँढेको जुधाई बाच्छाको मिच्याईँ गर्ने मै व्यस्त छन् । यस्तै अवस्था रह्यो भने भोलि क्याम्पसको परीक्षा केन्द्र पनि अन्यत्र सर्ने कुरामा ढुक्क छ । यहाँ क्याम्पस भएकै कारण यहाँका होटल व्यवसायीले प्रत्यक्ष फाईदा लिएका छन् । यहाँका विद्यार्थीहरुले घरदैलोमै आफैले अध्ययन गरेको क्याम्पसमा परीक्षा दिन पाएका छन् । खै यो चिन्ता ? केबल एउटा प्राध्यापक वा एउटा व्यक्तिकै कारण विद्यार्थीको पढाई प्रभावित बनाउनु, क्याम्पस प्रशासनलाई राजनैतिक अखडा बनाउनु, राजनैतिक भर्ति केन्द्र बनाउनुले भोलि क्याम्पस नै नरहने स्थिति रह्यो भने को बन्ने जवाफदेही ?
गलत गर्नेले सजाय पाउनुपर्छ । हो कोही माथि पनि अन्याय हुनुहुँदैन । विद्यार्थी माथि नै कुर दृष्टि राख्ने काम गलत हो । तर यहाँका दुई दल नेकपा एमाले र नेपाली काँग्रेसले आफ्नै आफ्नै अडान लिएर दुई तिर फर्किएर समस्याको समाधान हुँदैन । शान्त वातावरणमा अबको निकास खोज्नुपर्छ । यतिसम्म आलोचना हुँदा पनि यहाँको नेतृत्व वर्गलाई लाज सरम भन्ने चिज लाग्दैनकी क्याहो ? यो विषय विद्यार्थीलाई छोडीदिउँ । विद्यार्थीले जे भन्छन् त्यसैगरी अगाडी बढ्दा उपर्युक्त हुन्छ । अदालतले सफाई दिईसकेको विषयलाई यति विवादित बनाउनु सिंगो मुसिकोटकै बेईज्जत हो ।
आफ्ना आफ्ना राजनैतिक दाउपेच क्याम्पस प्रांगण भित्र नभित्र्याउँ कृपया । यही वातावरण, यस्तै परिवेश, यस्तै प्रणालीमा भोलि जुनसुकै क्षेत्रबाट, जुनसुकै राजनैतिक दलको सिफारिसमा आएको क्याम्पस प्रमुखले कसरी काम गर्न सक्छ ? एमालेको क्याम्पस प्रमुख हुँदा काँग्रेसले विरोध गर्ने, काँग्रेसको क्याम्पस प्रमुख हुँदा एमालले विरोध गर्ने प्रणालीको विकास हुँदै गयो भने अन्तत क्याम्पस बाहिर ताल्चा लाउने स्थिति सिर्जना हुने कुरामा विश्वस्त रहे हुन्छ ।
क्याम्पसको विद्यार्थी माथिको खेलवाड मात्रै होईन् यहाँका राजनैतिक दलहरुले ती सहयोगीहरुको भावना माथि पनि खेलवाड गरेका छन् जसले हिँजो क्याम्पस स्थापना गर्न मन फुकाएर सहयोग गरेका थिए । कसैको स्वार्थले ती सहयोगीहरुको भावनामा ठेस पुग्नु हुँदैन । भोलि क्याम्पसलाई समस्या पर्दा कुन मुख लिएर फेरी सहयोग माग्ने हो यस विषयमा कसैले सोँचेको छ ?
समस्या जहाँ तहीँ आउँछन् । विवेकहिन चरित्र देखाएर त्यही समस्या माथि खेलेर अर्को समस्या निम्त्याउनु नेतृत्व वर्ग नांगिनु हो । क्याम्पसको विषयमा पनि पीडित पक्षको न्यायको लागि भन्दा पनि क्याम्पस प्रमुखलाई हटाउने प्रमुख मुद्धा बनाइएको छ । उनी कुन सामाजिक र मानसिक संघर्षसंग लडिरहेका छन् कसैलाई मतलब छैन छ त केबल कसलाई क्याम्पस प्रमुख बनाउने भन्ने भद्दा मजाकको विषय । यी र यस्ता क्रियाकलापले गोडा मुती न्यानो भनेजस्तो केही समय त उसको विरुद्ध र प्रतिरक्षामा लागेका दुवैलाई न्यानो होला तर भविष्यमा यसले गहिरो संकट निम्ताउनेछ ।
पछिल्लो समय देशैभरका क्याम्पसका विद्यार्थी संख्या कम हुँदै गएको अवस्था छ । हालसम्मको स्थितिलाई कायम राख्दै दयनीय अवस्था रहेको बिद्यार्थी संख्यालाई बृद्धि गर्नु अहिलेको आवश्यकताको अर्को विषय बनेको छ । क्याम्पसको गुणस्तर वृद्धिका लागि सोच्ने बेला आपसी मनमुटाव र राजनीतिक प्रभावले भएको संरचना पनि ध्वस्त बनाउँदै जानु समुदायको हीतमा छैन।
केही समय अगाडी सम्पन्न स्ववियू निर्वाचनमा पनि बिना कारण चुनाव स्थगित गरियो । एमाले र काँग्रेस निकट विद्यार्थीबीचको चुनावी तालमेल अनुसार नतिजा नआउने देखिएपछि एकाएक निर्वाचन स्थगित हुनपुग्यो । त्यसमा यहाँका राजनैतिक दलले निर्वाचन अधिकृतलाई नराम्रो संग फसाईदिए । बिना कारण विद्यार्थी उपस्थित हुन नसकेको कारण देखाएर चुनाव स्थगित गर्ने नयाँ नजिर समेत बसालियो । यसले भावि दिनमा पनि यहाँको स्ववियू चुनाव हुन्छ भन्ने कुरामा अन्योल स्थित सिर्जना गरेको छ। जबकी चुनावमा पराजय भोग्ने संगठनले त्यही कारण देखाएर चुनाव स्थगित गर्न खोजेमा पुरानो नजिर खोज्ने की नखोज्ने?
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |