गुल्मी, चैत्र २६: नेपाल चेम्बर अफ कमर्शले गुल्मीको सदरमुकाम तम्घासमा यहि चैत्र २९ गते देखि सुरु हुने भनिएको दोश्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन एवं व्यापार औद्योगिक मेलाको मिति सारेर बैशाख ५ गते बाट सुरु हुने आयोजकले जनाएको छ। आज मंगलबार पुनः पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ५ गते देखि १७ सम्म महोत्सव चल्ने आयोजकले जानकारी दिएको हो।
आफुहरुले महोत्सव सञ्जालनमा लागि जिम्मा दिएको ब्यक्तिले तानसेन नगरपालिकामा पनि महोत्सव गर्न टेण्डर हालेको र उसैलाई उक्त टेण्डर परी तानसेनमा यहि चैत्र २२ गते देखि महोत्सव सुरु भए पछि दोश्रो गुल्मी महोत्सवको मिति सारेर बैशाख ५ गते देखि १७ गते सम्म गर्ने मिति तय गरिएको आयोजक चेम्बर अफ कमर्श गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डले बताए।
‘महंगा कलाकार झिकाउने, पचासौं हजार तिर्ने तर साँझपख मात्रै उनिहरुलाई मञ्चमा पुर्याएर टाढाबाट आउने दर्शक उनिहरुको प्रस्तुती हेर्न नपाई फर्किनु पर्ने बाध्यतालाई कसरी अन्त्य गर्नु हुन्छ?’ भन्ने पत्रकारहरुको प्रश्नमा वरिष्ठ उपाध्यक्ष विरेन्द्र भुसालले यसपालीको महोत्सवमा त्यसको अन्त्य गरिनेु बताएका थिए।
त्यस्तै महासचिव यज्ञप्रसाद शर्मा पन्थीले महोत्सव सार्नुको कारण अध्यक्षले बताए बाहेक अन्य केहि नभएको र अहिले सारिएको मितिमा तल माथी नहुने बताएका थिए। तम्घासमा महोत्सव गर्दा तम्घासका व्यवसाय धराशायी हुने भन्दै केहि दिन अघि रोक्नु पर्ने माग राखेका फेन्सी तथा कपडा व्यवसायी समितिको उक्त मागलाई रेसुङ्गा नगरपालिकामा बसेर त्रिपक्षिय छलफल गरी यहाँका ति व्यवसायीहरुलाई सहुलियत दरमा २५ वटा स्टल राख्न दिने सहमति सहित अवरोध अन्त्य भएको अध्यक्ष पाण्डले बताए।
‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुख्य नारासहित आयोजना गरिएको महोत्सव
रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित नुनथला भन्ने स्थानमा गर्न लागिएको चेम्बर अफ कमर्सका सचिव सूर्य घिमिरेले बताए।
महोत्सवबाट ३० करोडको आर्थिक कारोबार र डेढ लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाकी उपाध्यक्ष सीता विश्वकर्माले बताईन। उनका अनुसार महोत्सवमा टिकट शुुल्क विद्यार्थी ५० रुपैयाँ र अन्य व्यक्तिलाई १०० रुपैयाँ लाग्नेछ। ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइनेछ।
गुल्मीकै लागि, व्यवसाय चलायमानका लागि, स्थानीय प्रतिभालाई प्राथमिकताका लागि, सस्तोमा समान उपलब्ध गराउनका लागि, पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि, मनोरञ्जनका लागि र समग्रमा आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवले टेवा पुराउने रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थीको भनाई छ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारको सहभागिता रहनेछ। महोत्सवमा गुल्मीको समग्र कृषि, पर्यटन, स्थानीय संस्कृति र स्थानीय उत्पादन लगायतलाई प्राथमिकता दिइनेछ। स्थानीय स्टल नि:शुल्क रख्न पाइनेछ। यसबाट आएको आर्थिक आम्दानी सामाजिक क्षेत्रमा पनि खर्च गर्ने आयोजक संस्थाले जनाएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |