टोपलाल अर्याल
गुल्मी, २९ फागुन
‘सुनको बैशाखी टेकी चले राजा दशरथ–२
ओखती भयो अति दूर’ ः आहै दशरथका…...
रेसुंगा नगरपालिका–४ अर्खलेमा हिम बहादुर थापाले फागुको मेलो निकाल्छन् । सेतै फुलेका थापाको होहैमा हौहै थप्छन अरु कलाकार । यो फागु गीतको आफ्नै मेलो र लय छ । अर्खलेमा बर्षौदेखि फागु संस्कृति र परम्परा चल्दै आएको छ । लामो भाका भएकाले सवैलाई गाउन सजिलो छैन् ।
‘ओखती खोज्न भनी हिडे राजा दशरथ २
ओखती भयो आर्शिवाद’ः आहै दशरथका….
बाउ–बाजेसंगै खेल्दै, सुन्दै र सिक्दै आएका थापालाई सवै गीत र लय कण्ठस्त छन् । जिल्लाका धेरै स्थानमा फागु मनाइन्थ्योे । होली र फागु संस्कृती फरक हो । दमाहा, झ्याली, खैजडी र मजुरासंग गाइने फागु गीत जिल्लामा दुर्लभ भएको छ । युवाहरु नकस्सिएसम्म मौलिक लोक संस्कृतिको संरक्षण नहुने भएकाले पछिल्ला बर्षहरुमा युवा पुस्तालाई संगै राखेर फागु गीत गाउने, नाच्ने र रमाइलो गर्न थालिएको थापाले बताए ।
अर्खलेमा पहिले फागु पूर्णिमाको पक्ष सुरु भएपछि साताभर फागु गाइन्थ्यो । फागु र भजन गाउने हिम बहादुर थापासहित अर्खलेकै बिष्णु दलार्मी, रेशौराज आचार्य, चन्द्रमणी पाण्डेय, गोपालमणी शर्मा पुराना कलाकार हुन् । यो टोलीले उमेरमा फागु र भजन गाएर उज्यालो बनाउँथे । उनीसहितका थुप्रै व्यक्तिलाई बुढ्यौलीले छोयो । त्यसैले फागु बचाउन युवाहरु उर्जाका साथ लागेको स्थानीय फागु तथा भजनका कलाकार गोपालमणी शर्माले बताए । ‘पुरानो पुस्ताले गाएरै सवैकुरा कठस्त पारे लिपी बनाएनन् । अहिले युवाहरु लिपी बनाउँदै फागु संस्कृति संरक्षणमा एकमत छन््,’शर्माले भने,‘परम्परा जोगाउने दायित्व युवा पुस्ताको हो ।‘
‘कालु गाईका गोवरले चौकी लिपाए हो २
मालु गाईका ध्यूले होम चढाई ः आहै चला हो सदा शिब ।’
अहिले बजारमा होलीको नाममा गलत संस्कार भित्रिएको छ । साँस्कृति पर्वका नाममा डिस्कोको उश्रृङखलता शहरका गल्लीहरुमा छन् । गाउँका फागु गीत भन्दा शहरका डिस्कोमा युवा आर्कषण छ । जसले हाम्रो संस्कार र संस्कृति जोगाउन मुस्किल परिरहेका बेला अर्खलेका युवाहरुको फागु जोगाउने अभियान उदाहरणीय भएको त्रिभुवज विश्व बिद्यालयबाट बिद्याबारिधीको लागि नेपाली संस्कृतिमा अनुसन्धान गरिरहेका शोधकर्ता गणेश श्रीपालीले बताए । उनले पुरानो र लोपउन्मुख संस्कृति भएकाले संरक्षणको आवश्यकता रहेको बताए ।
फागु लामो र छोटो दुवै भाकामा गाइन्छ । युवा पुस्ताका फागु गायक कृष्ण पाण्डेले लामो भाका अप्ठयारो हुने भएकाले छोटोमा सवैको चासो रहेको बताए । उनले आफुहरु बजारको डिस्को संस्कृतिबाट धेरै टाढा रहेर शुद्ध फागु संस्कृतिमा रमाइलो गर्दै संरक्षणमा समेत जुटेको बताए । सवै गीत रामायणमा आधारित भएकाले कठस्त पार्न सजिलो छैन् । गीत उस्तै भएपनि फागु र भजनको लय फरक रहेको पाण्डेयले बताए ।
अर्खलेमा फागु पुर्णिमाको दिन बाँसको लिंगो गाड्ने र चीर पोलेर रातभर फागु गाउने प्रचलन रहेको छ । भोली पल्ट बाँस काटेको घरबाट फागु निकालेर गाउँदै र नाँच्दै सोहि स्थानमा पुगेर चीरको धुलो उडाउने पुरानो परम्परा कायम रहेको स्थानीय हरिप्रसाद आचार्यले बताए । पुरानो पुस्ताबाट फागु पुस्तान्तरण नभएका कारण पहिले जस्तो उत्सव नभएपनि संस्कृति रोकिएको छैन् । जमनामा फागु गाएर रात बिताएका कैयन पुस्ता अझै छन् । पुराना पुस्ताले अहिलेभन्दा आर्कषक गाउँथे । फागु पक्षबाट गाउँ–गाउँमा उत्साहका साथ फागु गाउँने र नाच्ने चलन थियो ।
फागु गीत र नाचमा जातिय विभेद हुँदैन । सवै समुदायको उपस्थितीले फागुको रौनक सुरु हुन्छ । गाउँकै युवाहरुबिचमा भावना साटासाट, रमाइलो र उर्जा भर्न आफुहरु बर्षेनी फागुमा रमाउने स्थानीय युवा बिष्णु भण्डारीले बताए । उनले पुरानो फागु र भजन लिपीवद्ध गरेर राख्ने काम भएकाले आफुहरुले निरन्तरता दिने प्रविवद्धता जनाए । रेसुंगा नगरपालिका ४ अर्खलेको फागुसंगै भजन पनि प्रख्यात छ ।
बर्षौदेखि अर्खलेका स्थानीय भजन समुहले मौलिक लोक भजन गाउँदै आएका छन् । ६० बर्षीय हरि पन्थीले भजन गाउन थालेका तीन दशक हुन थाले । उनका पुर्खाले पनि भजन गाउँथे । यो समुह भजन गाउन नपुगेका जिल्लाका कुनै स्थान बाँकी छैनन् । तर, पुस्ता निकै पुराना छन् । जमना फेरियो, उमेर घर्कियो । पहिले–पहिले पुजाहरुमा भजन गाएर रात बिताएको अनुभव पन्थीसंग छ । तर, नयाँ पुस्ता दोहरी र पपसंग रमाउन थालेकाले भजन संकटमा परेको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |