गुल्मी: जब मानिसलाई मनमा अति पिडा हुन्छ तब भन्ने गर्छन कसै संग यो मनको बह पोख्न पाए पनि यो भारी टाउको कति हलुङ्गो हुन्थ्यो होला। हो हुन पनि। तर मनको बह कसै संग पोख्न नसक्ने अर्थात बोल्न नसक्ने मानिसहरुको हालत के होला? यहि सवाल मनमा उब्जियो गुल्मी अस्पतालको भित्रको एउटा कारुणिक दृश्य देख्दा।
त्यस अस्पतालको शैयामा मुखमा अक्सिजन लगाईएको एउटा अबोध बालक छ्टपटाउँदै लडिरहेका छन। बेला-बेलामा उनको अवस्था निकै असहज देखिन्छ। त्यो दृश्य नियाल्दै उनको कोखमा उनकी आमा गहभरी आँशु पार्दै बसेकी छन। उनी आमा थिईन गुल्मीको मालिका गाउँपालिका-५, छापागाउकी २६ बर्षीया सुमित्रा परियार।
हामीलाई जानकारी भईसकेको थियो अस्पतालको शैयामा छ्टपटाएका ति बालककी आमा सुमित्रा बोल्न, कान सुन्न सक्दिँनन भन्ने कुरा। त्यसैले हामीले हातको ईशारा गर्दै सोध्यौँ। कहिले देखि के बिमार भएको हो बाबुलाई भनेर। उनले छोराको छातीमा हात लगाउँदै हातकै ईसाराले भनिन छोराको छातीमा अक्सिजन गरेको छ। उनले बुढी औँला र जेठी औँलाले पैसा गन्ने इसाराले भनिन् साथमा पैसा छैन, अस्पताल सम्म आउने बाटो खर्च नभएर गाउँभरी मागेर आएकी हुँ। उनले खेतबारीमा हलो जोत्ने इस्मारा गर्दै भनिन गरिखाने जमिन पनि छैन। म मात्रै बोल्न सुन्न नसक्ने होईन। मेरो श्रीमान पनि म जस्तै हुनुहुन्छ। उहाँ संग यहाँ सम्म आउने बाटो खर्च नभएर उतै घरमा हुनुहुन्छ। यी सबै कुरा उनले हातकै ईशाराले बताईन।
बोल्न सक्ने भए लौन हजुर मेरा छोरा बचाउनका लागि मिडिया मार्फत सबै संग अपिल गरिदिनुस् न भन्थिन होला। तर विवशता उनी बोल्न नसके पनि सायद उनका बगिरहेका आँशुले छोरा बचाई दिन सबै संग अपिल गरिरहेको होला। अस्तपालको अन्य शैयामा बसेका बिरामीका कुरुवाहरुको नजर आफ्नो बिरामी प्रति भन्दा तिनै अबोध बालक र पीडा अभिव्यक्त गर्न नसकेर गहभरी आँशु बगाई रहेकी उनै आमा प्रति थियो। उनी अर्थात गुल्मीको मालिका गाउँपालिका-५, छापाकी २५ बर्षीया सुमित्रा परियार। उनका श्रीमान काकु परियार पनि उनि जस्तै बोल्न, कान सुन्न नसक्ने अपाङ्गता भएका व्यक्ति हुन। दुवै उस्तै अपङ्गता भएका जोडीले दुई बर्ष अघि प्रेम विवाह गरेका थिए। उनको माईती घर मदाने गाउँपालिका-३, सिर्सेनी सिम गाउँमा हो। छोरालाई उपचार गराउन सक्ने कुनै उपाय नभए पछि बाबु भेषबहादुर परियारलाई गुहारेर फागुन १० गते देखि उनी गुल्मी अस्पतालमा छोरालाई भर्ना गरेकी हुन। सुमित्राको त्यो बिचल्ली देखेर सोही अस्पतालमा बिरामी लिएर आएका सिमिचौर गाउँका कृष्णकुमार बस्नेतले पत्रकारहरु गुहारेर उद्धार गर्न खोजेको बताउँदै हुनुहुन्थ्यो।
सुमित्राका बाबु भेषबहादुरको पनि पैसा खर्च गरेर नातिलाई बचाउने कुनै उपाय छैन। १४ सन्तानका बाबु भेषबहादुर दैनिक निमेक मजदुर गरेर छोराछोरी हुकाउँदै आएको र अहिले त्यस अस्पतालले नातीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरेर पठाउन लागेका तर उपचार खर्च नभएको बताउँदै हुनुहुन्थ्यो।
त्यस अस्पतालका डाक्टर गिता पन्थी सुनारले बालकलाई निमोनिया संगै स्वासप्रश्वासको समस्या देखिएकोले अस्पतालले निःशुल्क एम्बुलेन्सको सुविधा दिई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको बताउँदै हुनुहुन्थ्यो।
त्यस अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार फागुन १० देखि हाल सम्म ति बालककी आमालाई निशुल्क खानको ब्यवस्था गरिएको छ। निःशुल्क एम्बुलेन्स संगै जिल्ला प्रशासन र सिर्सेनी समाज संग समन्वय गरी बुटवल पठाउन लागिएको छ। उनिहरुलाई पत्रकार टोपलाल अर्यालले ८ हजार सहयोग गरेको र अन्य सबै दयालु मनहरुले पनि जति सकिन्छ त्यति सहयोग गरेर सुमित्राको छोरालाई बचाई दिन अस्पतालमा पुग्ने हरेक मानिसहरुले अपिल गरेका छन। बाबु आमा दुवै बोल्न नसक्ने अभिभावकको काँखमा जन्मिएका ति बालक बचाई दिन अपिल स्वरुप आमाको रोदन छ, चित्कार छैन। बेस्सरी रोएर गुहार गुहार गरुँ जस्तो मनमा पिडा छ तर मुखबाट बोली फुट्दैन। कक्षा ६ सम्म पढेकी सुमित्रालाई कागजमा लेखेर छोरालाई बचाई दिन सबै संग के भन्न चाहनुहुन्छ? भनेर सोध्न लगाईयो। छोटो शब्दमा उनले लेखेर भनिन, ‘मेरो छोरा बचाई दिन सबै संग बिन्ती छ।’
उनको छोरा बचाई दिन उनको मात्र बिन्ती होईन। हामी पनि सबै संग बिन्ति गर्दछौँ कि सुमित्राका छोरालाई बचाई दिन सबैले जति सक्नु हुन्छ त्यति सहयोग गर्नुहोस्। त्यसका लागि सुमित्राका बाबु भेषबहादुर परियारको मोबाईल नम्बर ९७६६८१५९४८ वा समाजसेवी कृष्ण बस्नेतको मोबाईल नम्बर ९८४७१०४८५० मा सम्पर्क राख्नु होला। प्रति व्यक्ति सहयोगदाता संगै सरकारी निकाय संघ संस्थाले पनि सहयोगको हात बढाई दिनुहोला र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि ति बालकको निःशुल्क उपचार गरिदियोस् भन्ने आग्रह गर्दछौँ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |