गुल्मी: सदा झैँ आज आईतबार बिहान पनि गुल्मीको इस्मा गाउँपालिका-२, छल्दिटार गाउँस्थित ज्ञान बहादुर कुमाल की ७ बर्षिया छोरी विष्णु कुमाल आमाको हातबाट खाना खाएर स्कुल ड्रेस लगाएर मुस्कुराउदै ‘बाई मम्मी’ भनेर हात हल्लाउँदै स्कुल तिर लागेकी थिइन।
तर दुर्भाग्य घरबाट हिँडेको पाँच मिनेट पनि नपुग्दै आमा संगको त्यो मुस्कान र बिदाई अन्तिम बन्न पुग्यो। अर्थात माथिबाट जेसिबी अर्थात डोजरले पल्टाएको ढुङ्गा टाउकोमा बज्यो र अन्तिम पुकार मम्मी पनि भन्न नपाई विष्णु भुईंमा ढलिन। तत्काल आमा आईन रक्ताम्य र अचेत छोरीलाई कोखिलामा च्यापेर छोरीलाई अस्पताल पुर्याउनका लागि सबै सङ्ग गुहार मागिन् तर गुहार दिन कोहि आएनन्। आउनुपर्ने त उनै डोजरवाला हो तर कता हराए हराए।
एउटी बालिका रक्ताम्य ढलेको एक घण्टा भन्दा बढी समय बित्दा पनि अस्पताल पुर्याउने गाडी आएन। कुनै विकट गाउँको कुरा होईन त्यो सदरमुकाम सङ्ग जोडिएको गाउँ हो। गाडीमा करिब १५ मिनेटको दुरी हो।
विभत्स त्यो घटना घट्दा कुनै धनाढ्य वा समाजको अगुवा वर्गको परिवारको सदस्य भई दिएको भए त्यहाँ आगो पर्थ्यो। तत्काल एम्बुलेन्स वा कुनै गाडी पुग्थ्यो तर गरिब कुमाल परिवारले बेलैमा गुहार पाउन नसक्दा बालिकाको अकालमा ज्यान गयो भन्छन् छ्ल्दीटारका हरेक बासिन्दाहरु।
छल्दिटार-गुर्वा-ठाडुङ्गा मोटरबाटो स्तरवृद्धिको काम सुरु गरेको पनि तीन बर्ष बित्यो। सङ्गै सुरु गरेका सडकहरुको काम ९० प्रतिशत भन्दा बढी भइसकेका छन् तर त्यस सडकको काम ९० प्रतिशत पनि भएको छैन। त्यस्तै स्तर वृद्धिका क्रममा कतै ९ मिटर मात्रै कतै १४ मिटर सम्म डोजरवालाले भत्काई दिने गर्दा स्थानीयवासी आक्रोशित हुँदै आएका छन्। अर्कोतर्फ आईतवार बिहान डोजरले डाँडो काट्दा तल बाटोमा माटो ढुङ्गा खसाल्न पाईन्न भनेर करिब दुई घण्टा सम्म डोजर चल्न दिएका थिएनन्। त्यस वडाका वडाध्यक्ष लोकनाथ आचार्यले अघिल्लो दिनदेखि रोक्दै आएको र डोजरवालाहरु कै लापरवाहीबाट बालिकाको ज्यान गएको बताउनुहुन्छ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख चिरन्जिवी दाहालका अनुसार बिहान करिब सवा ९ बजेको घटेको घटना थियो। अचेत बालिकालाई ११ बजे तिर गुल्मी अस्पतालमा ल्याईएको र त्यसको २० मिनेट पछि डाक्टरले मृत घोषणा गरेका थिए। घटना लापरबाहीबाट भएको स्थानीयको भनाईका सम्बन्धमा अनुसन्धान भईरहेको डिएसपी दाहालले बताउनु भयो।
तल बाटो छ स्कुल समयमा माथि डोजर चलाईन्छ। निर्माण व्यवसायीको मनपरिपन। एक त स्कुल समयमा डोजर चलाउनु र स्थानीय जनप्रतिनिधिहरु र अगुवाहरुले चलाउन दिनु मानवीय संवेदना प्रति बेवास्ता हो। त्यस माथि निर्माण व्यवसायी र फिल्डमा खटिएका उनका कामदारको लापरबाहीका कारण दु:खद घटना घटेको स्थानीयवासी तथा नेकपा एमालेका युवा नेता राजेन्द्र विक्रम कुँवर बताउनु हुन्छ।
प्रहरी नियन्त्रणमा रहेका जेसिबी चालक मकवानपुरको ईन्द्रचौर गाउँपालिका-४, सिस्नेरीका ३६ बर्षिय राजेश रेग्मी हुन्। उनि सङ्गै फिल्डमा खटिएका निर्माण कम्पनी श्रेष्ठ कन्स्ट्रक्सनका प्रतिनिधि पंकज श्रेष्ठ र सुशील सावद साईड मै थिए। तल बाटोमा सावधानी अपनाउन खटिने उनीहरु हो। त्यो भुमिका त परै जाओस् घटना घटे पछि उद्धार कार्यमा समेत उनीहरुले मानविय संवेदना गुमाएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडी स्थानीयवासी आक्रोशित थिए।
यो रिपोर्ट तयार पार्ने बेला सम्म मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा छलफल भईरहेको छ। श्रेष्ठ कन्स्ट्रक्सनका प्रमुख हरिकुमार श्रेष्ठले स्थानीयवासी संग भएको सहमति अनुसार जेसिबी चलाउदा चलाउदै पनि ढिकमा थुपारिएको माटोबाट ढुङ्गा खसेर दु:खद घटना घटेको प्रतिक्रिया दिनु भएको छ।
घटना भवितव्यमा घट्यो तर डेढ घण्टा सम्म उद्धार नहुनु झन ठुलो लापरवाही हो। त्यहि पिडा सुनाउ छन् मृतक विष्णुका बाबु ज्ञान बहादुर र आमा पुतली कुमाल।
यी दम्पतिको त्यस मोटर बाटोले काख खोसेको मात्रै छैन, उनिहरुको बास समेत उठाउदै छ। गत बर्षको बर्षायाममा मोटरबाटोबाट पहिरो झरेर यो परिवार पालुखा माविमा गएर बसेका थिए। यसपालिको बर्षायाममा उठिबास हुँदैछ्न। ज्ञान बहादुर अपाङ्गता भएका व्यक्ति हुन। सम्पत्तिका नाममा त्यहि बास मात्रै हो। तीन महिना अघि मात्रै उनका बाबुको मृत्यु भएको थियो। तीन महिना नपुग्दै छोरी गुमाए। यो परिवारको बिचल्लीको कथा लिन हामी घर मै पुग्ने छौँ। अहिलेलाई यहि आग्रह गर्दछौँ। मोटर बाटो पिडित यो परिवारले न्याय पाओस् र यो पाराले डोजर चलाउने कार्य तत्काल बन्द गर्न स्थानीय सरकार र जिल्ला प्रशासन आजै देखि एक्सन मै उत्रिओस्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |