तिलाचन पाण्डे, गुल्मी: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिनुभएको छ।
बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गर्दै उहाँले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको हो । अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको प्रचण्डले बताउनुभयो । सुविधा सम्पन्न भवनबाट जनतालाई दिने सेवा सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उहाँको भनाइ छ ।
प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरुको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । विकास निर्माणका कार्यहरुमा सबै एकै ठाउँ भएर मात्र अगाडि बढ्न सकिने उहाँको भनाइ छ ।
यस्तै मालिका गाउँपालिकाले निर्माण गरेको हेलीप्याड नेपालकै नमूना भएको आफूलाई अनुभूति भएको उहाँको भनाइ छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताउनुभयो ।
उहाँले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
२०७८ भदौ १ गते सम्झौता भई म्याद थपसहित २०८१ पुस १२ गते सम्पन्न गरेको थियो । कूल सात करोड ६७ लाखको लागतमा भवनको निर्माण विकोइ श्रेष्ठ सुनिल समिर जेभीले गरेको थियो । यसका साथै बिहीबार नै प्रचण्डले धुर्कोट गाउँपालिकाले निर्माण गरेको सहिद पार्कको उद्घाटनसमेत गर्नुभएको थियो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सचिब तथा पुर्व मन्त्री चक्रपाणि खनाल , राष्ट्रिय सभा सदस्य बिष्णु कुमारी सापाकोटा , पुर्व मन्त्री रामकुमारी झाक्तृ , रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी , मालिका गाउँपालिका पुर्व अध्यक्ष रित बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।
मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष उपेन्द्र अर्यालको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत कमल क्षेत्रीको धन्यवाद मन्तव्य र शिक्षक बुद्धि सागर अर्यालको संचालन रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |