गुल्मी, माघ २३: गुल्मीको एक माध्यमिक विद्यालय स्थापना भएको ६५ वर्ष पछि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि निर्वाचन भएको छ।
जिल्लाको धुर्कोट गाउँपालिका-५, वस्तुमा रहेको हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि निर्वाचन हुन पुगेको हो।
त्यस विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीका अनुसार राजनैतिक सहमतिमा ६ महिना अघि देखि व्यवस्थापन समिति गठनको प्रयास भए पनि सहमति जुट्न नसकेपछि यहि माघ २० गते निर्वाचन भएको थियो।
२०१५ साल चैत्र १५ गते वस्तुका समाजसेवी गोपाल प्रसाद श्रेष्ठको अगुवाईमा हिमालय मिडिल स्कुलका रुपमा स्थापना भएको त्यस विद्यालयको व्यवस्थापन समितिको संस्थापक अध्यक्ष उनै श्रेष्ठ रहेको प्रधानाध्यापक भण्डारीले बताउदै भने, “हामीलाई थाहा भए सम्म १८ औँ विद्यालय व्यस्थापन समितिको अध्यक्ष सम्म सहमति मै चयन भएका थिए। यसपालि १९ औँ अध्यक्ष निर्वाचनबाट चयन हुन लाग्नु भएको छ।
उनका अनुसार त्यस विद्यालयमा ४२१ जना अभिभावक अर्थात मतदाता मध्ये १४४ जनाले मतदानमा भाग लिएका थिए। उनिहरुको मतबाट चार जना सदस्य निर्वाचित भएका छन। निर्वाचित हुनेहरुमा लोकहरि भण्डारी, राजु विक, मिना भण्डारी र अमृता पाण्डे रहेका छन। उनिहरुले शिक्षाप्रेमी समाजसेवी मध्येबाट २ जना मनोनित गर्ने र उनिहरु मध्येबाट अध्यक्ष चुनिने छ। त्यो चयन गर्न भने बाँकी छ।
अध्यक्षमा बडाहाकिमको हस्तक्षेप देखि चुनावसम्म
गुल्मी जिल्लाका पुराना विद्यालयहरु मध्ये २००८ सालमा खुलेको तम्घासको हालको महेन्द्र माध्यमिक विद्यालय हो। सोहि सालमा श्रीभार्से जनसहयोग माध्यमिक विद्यालय, रिडी संस्कृत विद्यापिठ र २०१५ सालमा तेस्रो पुरानो वस्तुको हिमालय मिडिल स्कुल स्थापना भएको थियो।
जसको संस्थापक अध्यक्ष श्रेष्ठ पछि तेजनारायण पाण्डे अध्यक्ष भएका थिए। उनि पछि अहिलेको सिडिओ सरहका तत्कालीन गुल्मी गौडाका बडाहाकिम अध्यक्ष बनेका थिए।
त्यसपछि जिल्ला सभापति अध्यक्ष बनेका थिए। प्रधानाध्यापक भण्डारी भन्छन, “उनि दुई जनाको नाम तथ्यांकमा छैन। त्यसपछि प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम प्रसाद तिम्लिसिना अध्यक्ष भएका थिए।”
त्यसपछि समुदाय कै हातमा अध्यक्ष आयो। फलतः पुनः तेजनारायण पाण्डे अध्यक्ष भए। त्यसपछि उत्तरकुमार श्रेष्ठ, आनन्दराम शर्मा, ताराप्रसाद भण्डारी, पुनः गोपाल प्रसाद श्रेष्ठ, परमानन्द भण्डारी, ढुण्डिराज शर्मा भण्डारी, चुरामणि भण्डारी, पुनः तेज नारायण भण्डारी अध्यक्ष भएका थिए। त्यसपछि रुद्रमणि शर्मा भण्डारी, कृष्ण प्रसाद भण्डारी र हाल निवर्तमान बन्न पुगेका नन्दराम भण्डारी अध्यक्ष छन।
अध्यक्ष पदका लागि निर्वाचन:
‘विद्यालयमा चरम राजनैतिक हस्तक्षेप भनेर बुझ्ने कि यसलाई लोकतान्त्रिक अभ्यास भनेर बुझ्ने?’ भन्ने प्रश्नमा प्रधानाध्यापक भण्डारी भन्छन, ‘यसलाई प्रजातान्त्रिक, लोकतान्त्रिक अभ्यास भनेर बुझ्दा राम्रो होला।’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |