Awareness

Musikot Mahotsav

गाउँमै बसेर गाउँकै सेवा गर्ने धन बहादुरको रहर



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

मुर्थुम गाउँ, समुद्रीसतहदेखि करिव एकहजार पाँचसय मीटर उचाइँमा छ । यो गाउँ,पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि दक्षिण–पश्चिममा पर्ने तिनाउ गाउँपालिकाको वडा नं. १,साविकको कचल गाविसमा पर्छ । सानो चिटिक्क भूगोलमा सजिएको उक्त गाउँमा तीन दर्जन घरहरु छन् । मुनबहादुर बिकको घरपरिवार बाहेक सबै मगर जातिको बसोबास छ ।

Snow
Forest
Ad.

घर्तिमगर,रास्कोटी मगर,बगाले मगर,सुनारी मगरहरुको बसोबास रहेको सो गाउँका मानिसहरु फागुन,चैत लागेपछि सल्यान,रुकुम,अछाम लगायतका जिल्लाहरुमा खोटो संकलनका लागि मजदूरी गर्न पुग्छन् । दसैं छेका उनीहरु पर्वहरु मनाउन गाउँघरमा आइपुग्छन् । घर फर्किदा न्यूनतम ७० हजारदेखि तीन लाख पचास हजारसम्म कमाइ गरेर ल्याउँदा रहेछन् ।

उमेर पुगेका र जाँगरिला भए त एउटै घरबाट दुई,तीन जना ब्यक्ति समेत खोटो संकलनका लागि उतै पुग्ने रहेछन् । गाउँमा २०७४ सालमा आफ्नै मिहिनेत र थोरै लगानीबाट कच्ची बाटो पुराइएको रहेछ । फागुनदेखि गाउँको धारामा नुहाउन र लुगा धुन प्रतिबन्ध रहेछ । टाढाको मुहानबाट पाइपमा ल्याइएको पानीले हिउँदमा पिउन त पुग्छ तर सिंचाइ गर्न सकस भएको गाउँका अगुवा किसान धनबहादुर घर्तिमगर बताए ।

उमेरले ४० पुगे धनबहादुर घर्तिमगर । आफू १० वर्षको हुँदा ओखलढुंगामा रहेको ज्ञानोदय माविमा उनले कक्षा एक पढ्न थालेका रहेछन् । २०५८ सालमा जिल्लास्तरीय परीक्षाको नतीजा नआउँदै मंसीर महिनामा भागी बिहे गरे । छोरा जन्मिएपछि उनी २०६० सालतिर भारतको मद्रासतिर कामको खोजीमा हुँकिए । करिव एक वर्ष उतैतिर सुरक्षा गार्डको काम गरेर नेपाल फर्किए । घर,परिवार र समाजको मायाले उनलाई गाउँमै तान्यो । २०६१ सालतिर उनी खोटोको काम गर्न अछाम पुगेर ६ महिनाजति उतै बिताएर आएपछि अन्त कतै गएका छैनन्।

धन कमाउन धनबहादुर गाउँमै अनेक उपाय अपनाइरहेका छन् । पुख्र्यौली सम्पत्तिका नाममा उनीसँग ६ रोपनी धान फल्ने खेत छ । त्यो पनि प्रकोपका कारण केही भाग छियाछिया परेका छन् । बाँकी केही भागमा धान खेती बाहेक अरु गर्दैनन् । ७ रोपनी बारीमा तरकारी खेती थालेको दुई वर्ष भयो ।

बोडी,सेमी,करेला,खुर्सानी,टमाटर,काँक्रा,धिरौला लगायतका खेतीले उनलाई थोरै धेरै आम्दानी दिएको छ । उनले गएको सिजनमा टमाटरबाट ३०,३५ हजार रुपैयाँ आम्दानी गरेका थिए । यसपालि त बोडी र सेमीले खासै भाउ नपाएको उनको गुनासो छ । बारीका पाटाहरुमा गोन्द्रे केरा र विकासे मालभोग केरा समेत लगाएका छन् । गोन्द्रे केरा धार्नीको ८० रुपैयाँ र मालभोग काँचो नै कोसाको तीन रुपैयाँमा गाउँबाटै बिक्री हुँदोरहेछ ।

Awareness by SKF

थप आम्दानीका लागि भैसीं पालेका छन् । बजार टाढा पर्ने भएको हुँदा दूध बेच्न सक्दैनन् । त्यसैले उनले घ्यू बेच्दा रहेछन् । घर खर्चका लागि बेसार,अदुवा लगाएका रहेछन् । उनको घरमा विकासे र पुरानो काठेघार गरी ६ वटा घारहरु रहेछन् । वर्षमा एउटा घारबाट बेसीमा १३ मानासम्म मह संकलन गर्न सकिने उनले बताए । मानाको एक हजार तीन सय रुपैयाँमा मह बेचेर केही धन आर्जेका छन् ।

वर्षमा तीन पटकसम्म घरबाट मौरीको मह काढ्न सकिने रहेछ । मंसीर,चैत्र र साउनमा गरी । साउनमा मकैंको चउर (धानजस्तै पसाउँदा ) निस्किदा मौरीले राम्रो आहार पाउने भएकोले अरु बेलाको तुलनामा साउनको मह गुणस्तरीय हुने धनबहादुरले सुनाए । उनका अनुसार मंसीरमा तोरी र चिउरी फूल्ने बेलाको मह पनि स्वादिष्ट हुन्छ ।

धनबहादुरले आफ्नै खर्चमा दुईवटा प्लाष्टिक टनेल बनाएका रहेछन् । प्लाष्टिकको पाइपबाट पानी जोडेको छन् । जानी नजानी मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् । उनले कृषिसम्बन्धी तालिम र प्राविधिक सहयोग खासै पाएका छैनन् । आफ्नो वर्कतले जानेका कृषिकर्मले नै उनी अघि बढिरहेका छन् । त्यसैमा पनि उनको तरकारी खेतीलाई मृग( चौडा),दुम्सी लगायतका वन्यजन्तुले हानी पुराउँदा रहेछन् ।

धनबहादुरले स्थानीय सहकारी र स्थानीय सरकारसँग कृषिसम्बन्धी ज्ञान,सीप र वृहतरुपमा कृषि कर्म गर्न आर्थिक सहयोगको अपेक्षा समेत गरेका छन् । थप बजारीकरणका निम्ति समेत अपील गरेका छन् । आम्दानीमुखी फलफूल बारीमा लगाएर मनग्य धन कमाउने आशा पालेका धनबहादुर घर्तिमगरको जाँगरलाई सम्बन्धित निकायले ध्यान दिन सकेमा जाती हुने देखिन्छ ।

आम्दानीले घरका बाबा,आमा,श्रीमती र छोराछोरी पालेका छन् । छोरोले स्काभेटर चलाउन थालेपछि थोरै भएपनि उनलाई घरव्यवहारमा सहयोग मिलेको छ । बाख्रा र कुखुरा पाल्न श्रीमतीले उनलाई सघाएकी छिन् । सानैमा भागी विहे गरेकी छोरीले एक वर्षमै जण्डिसका कारण श्रीमान् गुमाउनु पर्दा पीडाबोध गर्दै थिए धनबहादुर । अहिले छोरी माइतमै छिन् । धनबहादुरका बाबा ६८ वर्ष र आमा ६७ वर्ष पुगिन् । आमा सुस्तमनस्थितिकी छिन् ।

धनबहादुरले गाउँमै बसेर समाजसेवा गरेका छन् । गाउँकै ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर आफूले पूरा पढ्न नपाए पनि गाउँले विद्यार्थीको भविष्यका निम्ति दिनरात सहयोग गरिरहेका छन् । त्यसैगरी रानीढुंगा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष भएर वन,वातावरण र जैविक विधिता संरक्षणमा टेवा पुराएका छन्।

गाउँमा रमाउँदै,गाउँमै कमाउँदै आएका धनबहादुर घर्तिमगरले गाउँकै सेवा गर्दै आएका छन् । तन्दुरुस्त छन् । स्वस्थ छन् । कर्मशील छन् । सबैका लागि उदाहरणीय समेत रहेका धनबहादुरले गाउँकै माटोमा सुगन्ध महसुस् गरेका छन् । गाउँकै विकासमा तल्लीन भएका छन् । बाँचुञ्जेल गाउँमै बसेर,गाउँ र गाउँलेहरुको सेवा गर्ने अठोट लिएका छन् ।

उनीजस्तै सोच,मनमा अठोट लिने गाउँलेहरु हुने हो भने आज गाउँ रित्तिनै थिएन । गाउँमै विकासका लहर आउँथे होला । गाउँलेहरुका मुहार थप उज्याला हुने थिए कि !

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो