गुल्मी ।गुल्मीको रेसुङ्गा नगरपालिका–२, उदिनढुङ्गास्थित जिप पार्क पश्चिम गुल्मी, बागलुङ र प्युठानसम्मका हजारौँ यात्रुले आवतजावत गर्ने महत्वपूर्ण स्थल हो। तर यात्रुहरूको सुविधाका लागि बनाइएको यहाँको सार्वजनिक शौचालय भने निर्माण सम्पन्न भएर पनि प्रयोगविहीन छ।
सरकारी बजेटबाट निर्माण भएको टर्मिनल भवन अहिले निजी क्षेत्रको ठेक्का सञ्चालनमा गएको बुझिएको छ। भवनसँगै ठेकेदार पक्षले शौचालय तथा हातमुख धुने संरचनासमेत निर्माण गरिदिएको छ। तर नगरपालिकाले पानीको व्यवस्था नगरिदिँदा नवनिर्मित शौचालय प्रयोगमा आउन नसकेको निर्माण व्यवसायी पक्षका किरण कुँवर बताउनुहुन्छ।
टर्मिनल भवनभित्रै शौचालय र हातमुख धुने ठाउँ निर्माण गरिएको छ। तर पानीको व्यवस्था नहुँदा ती संरचना प्रयोगविहीन छन्। उफ् ! हेर्नै नसकिने अवस्था छ। सार्वजनिक प्रयोजनका लागि बनाइएको संरचना प्रयोग गर्न नपाउँदा यात्रुले सास्ती खेपिरहेका छन्।
यस विषयमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीको ध्यानाकर्षण गराउन हामीले फोन सम्पर्क गर्ने प्रयास गर्यौँ। तर उहाँको फोन नउठेपछि सम्बन्धित वडाका वडाध्यक्ष हिराबहादुर थापासँग सम्पर्क गर्यौँ।
वडाध्यक्ष थापाका अनुसार नगरपालिकाले उक्त बसपार्कसहित विभिन्न संरचना निर्माणको ठेक्का निजी क्षेत्रलाई दिएको थियो। सोही क्रममा शौचालय निर्माण भएको पनि तीन–चार महिना भइसकेको छ। तर पानीको अभावमा शौचालय सञ्चालन हुन सकेको छैन।
उहाँ भन्नुहुन्छ, “मैले नगरपालिकाको सम्बन्धित विभागलाई पानीको व्यवस्था गर्न धेरै पहिलेदेखि नै भनिरहेको छु। अब फेरि भन्नुपर्ने भयो।”
यो विषय हामीले त्यतिबेला उठायौँ, जब बसपार्कमा आएका पुरुष यात्रुहरू शौचालय प्रयोग गर्न नपाएर बाहिरै पिसाब फेर्न बाध्य भए भने महिला यात्रुहरू दिसापिसाबका लागि अप्ठ्यारो भिरतिर जानुपर्ने अवस्था देखियो।
हजारौँ यात्रुको आवतजावत हुने सार्वजनिक स्थलमा शौचालय निर्माण गरेर मात्रै स्थानीय सरकारको दायित्व पूरा हुन्छ र ? निर्माण सम्पन्न संरचना सञ्चालनमा ल्याउन पानीजस्तो आधारभूत आवश्यकता जुटाउन नसक्नु कस्तो व्यवस्थापन हो ?
सार्वजनिक बजेटबाट बनेको संरचना प्रयोगविहीन राखेर यात्रुलाई यस्तो सास्ती दिनु किमार्थ उचित होइन। ठेकेदारले संरचना बनाइसकेको छ, वडाध्यक्षले समस्या पहिचान गरिसक्नुभएको छ र नगरपालिकाको सम्बन्धित शाखालाई जानकारी पनि पुगेको छ भने अब समाधानको जिम्मेवारी कसको हो ?
मेयरसाब, ध्यान जाओस् ! शौचालय बनेको छ, अब पानी जोडेर सञ्चालनमा ल्याइदिनुस्। यात्रुलाई खुला ठाउँमा दिसापिसाब गर्न बाध्य नपार्नुस्।
…..
पोस्ट मिति : २०८३ मङ्सिर ४ गते
समय : ११ : १५ बजे
…
ओझेलका खबर — खबर भित्रको खबर
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









