
तम्घास । समाजसेवा र मानवीय सहयोगलाई मुख्य उद्देश्य बनाउँदै तम्घासमा क्रियाशील दुई लायन्स क्लबले गुल्मी जिल्लामा विभिन्न सामाजिक तथा विकासमूलक कार्य गर्दै आएको जनाएका छन्।
लायन्स क्लब अफ गुल्मी, तम्घास र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा जिल्लाका विभिन्न स्थानमा पूर्वाधार निर्माण, विपद् राहत, स्वास्थ्य सेवा, वातावरण संरक्षण तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ।
लायन्स क्लबलाई पैसा सङ्कलन गर्ने वा सीमित व्यक्तिको प्रतिष्ठाका लागि मात्र सञ्चालन हुने संस्था भन्ने बुझाइ समाजमा रहेको भन्दै क्लबहरूले त्यसलाई गलत बुझाइका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार लायन्सको मूल उद्देश्य निःस्वार्थ सेवा, मानवीय सहयोग र समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु हो।
स्थानीय समुदायलाई आत्मनिर्भर बनाउने, ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा ११ लाख रुपैयाँको निर्व्याजी होमस्टे प्रोत्साहन कोष पाँच वर्षका लागि उपलब्ध गराइएको पनि विज्ञप्तिमा उल्लेख छ।
क्लबहरूले आफ्ना गतिविधिमा पारदर्शिता, उत्तरदायित्व र निष्पक्षतालाई उच्च प्राथमिकता दिँदै आएको दाबी गरेका छन्। समाजको हित र विकासका लागि सञ्चालन गरिएका गतिविधिलाई निष्पक्ष रूपमा जनतासामु पुर्याउन तथा रचनात्मक सुझाव दिन उनीहरूले सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।
प्रेस विज्ञप्ति लायन्स क्लब अफ गुल्मी, तम्घासका अध्यक्ष होमबहादुर पल्लि र लायन्स क्लब अफ गुल्मी रेसुङ्गाका अध्यक्ष कृष्ण खनालले संयुक्त रूपमा जारी गरेका हुन्। दुवै अध्यक्ष लायन्स वर्ष २०२६/२७ का अध्यक्ष हुन्।
..……..
पोस्ट मिति : ७ मंसिर २०८३
समय : दिउँसो २ बजे
………
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







