गुल्मी, माघ ५: गुल्मीको एक कार्यक्रममा गुल्मीको धुर्कोट गाउँपालिका आउनु भएकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल ४५ बर्ष पछि धुर्कोट-५ को वस्तु स्थित मामा घर आउदा बालापनको सम्झना र अपनत्वले छोएको भन्दै बोल्ने क्रमको सुरुवात मै गला अवरुद्ध पारेकी छन।
अर्घाखाँची घर भएकी नेतृ भुसालको मामा घर वस्तुको पाण्डे परिवार र वस्तु कै भण्डारी परिवार बुढा मावली भएको त्यसैले केहि समय आफूले हिमालय माविमा पढेको स्मरण गर्दै आफु आज बिहान त्यस मावि र मावली परिवारमा पुग्दा आफ्नोपनले छोएको भन्दै भक्कानिएकी हुन।
माओवादी केन्द्र धुर्कोट गाउँ कमिटीको तेस्रो अधिवेशनको उद्घाटन गर्न आउनु भएकी नेतृ भुसालले समारोहलाई सम्बोधन गर्दै धुर्कोट गाउँपालिकाका विभिन्न वडामा पुगेर नियाल्दा विकासले फड्को मारेको समेत बताउनुभयो। उहाँले अहिलेको काङ्ग्रेस र एमाले नेतृत्वको सरकार देशलाई स्थायित्व दिने नाममा भ्रष्टाचारीहरुलाई जोगाउन, नीतिगत रुपमै भ्रष्टाचारलाई संस्थागत गर्न गठन भएको आरोप लगाउनुभयो।
उहाँले हालै सरकारले सांसद र जनताको आँखा छलेर ल्याएको अध्यादेश भुमाफियाहरुको पक्षपोषण गर्न, लुटतन्त्रलाई बढावा दिन बनेको आरोप लगाउदै जनताको घर-घर देखि विपक्षी राजनीतिक दल व्यापक विरोधमा उत्रिने चेतावनी दिनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय निम बहादुर पाण्डे र विरबहादुर कार्की, प्रदेश कमिटी सचिवालय सदस्यद्वय बुद्धी जिसी र भुपाल पोख्रेलले मन्तव्य राखेका थिए। त्यस्तै महिलाहरुको तर्फबाट विनिता रोका पोख्रेल, युवा विद्यार्थीको तर्फबाट राजन पोख्रेल र जनवर्गीय संगठनको तर्फबाट दलित मुक्ति मोर्चाका जिल्ला संयोजक राजु विकले मन्तव्य राखेका थिए।
माओवादी केन्द्र धुर्कोटको अधिवेशनको जनसहभागिताले सो पार्टीको २०६४ को निर्वाचन ताकाको जनलहरको झल्को दिइरहेको थियो। गाउँपालिकाको केन्द्र बर्वोटको मुख्य सडक एक किलोमिटर दुरी र्यालिले पुरै ढाकिएको थियो। औपचारिक कार्यक्रमको समापन पछि अहिले साँझ देखि बन्द सत्र सुरु भएको छ।
बन्द सत्रले सहमतिमा नयाँ गाउँ कार्य समिति चयन गर्ने प्रयास गर्नेछ। त्यो सम्भव नभए निर्वाचनमा जाने आयोजकले जनाएको छ। उद्घाटन कार्यक्रममा स्थानीय कलाकारले गीत र नृत्य मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए। उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
बन्द सत्रको मुखसम्म अध्यक्षका दावेदार निवर्तमान अध्यक्ष चेतमान कुँवर, कोश बहादुर थापा, राजन पोख्रेल र राजु विक देखिएको प्रतिनिधिहरु बताउँछन।
माओवादी केन्द्र धुर्कोटका निवर्तमान अध्यक्ष चेतमान कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँ कमिटी ईन्चार्ज गोपाल कुँवरको स्वागत मन्तव्य र सचिव कोश बहादुर थापाको संचालन रहेको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |