ओझेलका खबर डटकम संवाददाता, गुल्मी: परिवारको कमजोर आर्थिक अवस्थाका कारण मजदुरी गरेरै बि.एड. तेस्रो वर्षमा अध्ययनरत गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सारकी रिता माझीको भिडियो पत्रकार मोहन बस्नेतले सार्वजनिक गरेपछि उनको सोँच, लगन र साहसको प्रशंसा भइरहेको छ।
उनी विगत सात वर्षदेखि पढाइसंगै मजदुरी काम गर्दै आइरहेकी छिन्। उनी वामीको बजार क्षेत्रमा भारी बोक्ने, भवन निर्माणका काममा सिमेन्ट, बालुवा मिसाउने काम गर्दै र सोही ठाउँको क्याम्पसमा ब्याचलर लेभलमा अध्ययनरत छिन्। उनको यो पेशाले आफू सहित दुई भाइलाई पनि पढाईमा ठुलो सहयोग मिलेको छ। कामलाई सानो ठुलो भनेर कहिल्यै मुल्यांकन नगरेकै कारण यो काम गर्न अलिकति पनि लाज नलागेको र वामी क्षेत्रका १०० घरपरिवारका महिलाहरु मध्ये यति पढ्ने उनी पहिलो भएको कारण गर्व पनि गर्छिन्।
उनी भन्छिन्, ‘म यहीँ काम गर्दै अझै धेरै पढेर शिक्षिका बन्छु र अरुलाई राम्रो शिक्षा दिनेछु, मेरो समुदायमा शिक्षालाई त्यति महत्व दिएको देख्दिन अझ छोरीलाई त पढाउने वातावरण नै छैन तसर्थ हाम्रो समुदायका महिलाहरु पढ्नुपर्छ है भन्ने किसिमको जनचेतना र शिक्षा प्रति प्रोत्साहन गर्ने मेरो गुरुयोजना छ।’ तस्वीर: मोहन बस्नेत
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







