गुल्मी: डेढ दशकदेखि एक्लिएका गुल्मीका ८४ वर्षका एक वृद्धले विवाह गरेका छन्। धुर्कोट-२, सुफलका कुलानन्द खनालले अर्घाखाँचीको शीतगंगा-१ की ६४ वर्षीया नारायणी पौडेलसँग जोडी बाँधेका हुन्।
छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको खनालको भनाइ छ। उनी छोरानाति संग छुट्टिएर बेग्लै बसेका छन्। पकाउन-खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए।
‘छोराछोरी जागिरे छन्, नातिनातिना जागिरे छन् । श्रीमती बितेको १५ वर्ष भयो, आफ्नो जोडा बितेपछि एक्लैजस्तो, तातोपानी खान दिने कोही भएन,’ उनले भने, ‘दुःख परेपछि जोडा चाहिने रहेछ, त्यसैले विवाह गरें ।’ कुलानन्दसँग विवाह बन्धनमा बाँधिएकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन् ।
‘छन त तीन छोरा, दुई छोरी छन् तर पछिल्ला दिनमा अलि दुःखैको दिन थियो,’ नारायणीले भनिन् । खनाल र पौडेल दुवैका छोरीको नेपालगन्जमा बिहेबारी भएको छ । छोरी भेट्न गएका बेला संयोगले आफूहरूको भेट भएको नारायणीले बताइन् । नेपालगन्जमा भएको परिचयमै एकआपसमा दुःख साटासाट भएको र विवाहका लागि मञ्जुर भएको कुलानन्दले बताए ।
‘उनलाई पनि मनको दुःख रहेछ, मलाई पनि मनको दुःख भयो, सहारा भएन,’ उनले भने, ‘दुई जनाकै दुःख मिलेपछि सँगै बनाउँ, खाउँ, बसौं, दुःखसुख बिसाउँ भनेर विवाह गर्यौं ।’ वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको नारायणीले सुनाइन् । ‘मेरो अहिले विवाह गर्ने बेला त होइन, बेला, उमेरले गरेको व्यवहार होइन यो।
तर, धेरै-धेरै पीडा थियो, मनको पीडा,’ उनले भनिन्, ‘त्यही पीडाले गर्दा बाँच्नका लागि फेरि विवाह गरें । अहिले खुसी नै छु, पीडाबाट मुक्ति पाएँल।’ तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग जे-जति जिउनी बचेको छ, त्यसैमा खुसीसाथ बाँच्ने कुलानन्दले बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








