Salime Malika Krishi Farm

Awareness Campaign

भारतबाट फर्केर शैलुन व्यवसायमा गुल्मीका कुँवर दम्पती, कमाई मासिक १ लाख



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रासस, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ।

इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गर्नुभएको छ। आजभन्दा आठ वर्ष अगाडिबाट औपचारिकरुपमा दर्ता गरेर कुँवर दम्पतीले आ-आफ्नोसीप र दक्षता अनुसारको शैलुन व्यवसाय सुरु गर्नुभएको हो।

भारतमा कमाएर ल्याएको रु ३५ हजार लगानीमा व्यवसाय सुरु गरेको इन्द्रबहादुरले बताउनुभयो। रोजगारीको सिलसिलामा भारत जानुभएका कुँवर लामो समयसम्म भारतमै काम गर्नुभयो। जागिर गरेर मात्र सन्तुष्ट नभएपछि कुँवरले भारतमै शैलुन सम्बन्धीका विभिन्न तालिम लिनुभयो।

सिंचाई
Forest
Ad.

त्यसपछि आफूले कमाएको थोरै रकमले भए पनि आफै व्यवसाय सुरु गर्ने भन्दै जन्मथलोमा फर्कनुभयो। यसमा इन्द्रबहादुर मात्र होइन श्रीमती मोनिका पनि निरन्तरको सारथी बन्नुभयो। दुवैको सहमतिमा शैलुन व्यवसाय खोल्नुभयो।

उमरेले ४७ वर्ष पुग्नुभएका इन्द्रबहादुर आफूले सञ्चालन गरेको शैलुन व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ। सुरुमा सानोबाट लगानी गरेर अहिले उहाँले व्यवसायलाई बढाउँदै लैजानुका साथै आम्दानीलाई विभिन्न ठाउँमा लगानी गर्नुभएको छ । आर्थिक अभावका कारण अध्ययनमा केही समस्या भएका कारण भारत छिर्नुभएका इन्द्रबहादुरले अहिले आफ्नो सीपका कारण कुनै पछुतो मान्नुपरेको छैन।

“पढाइ, पैसा र कुनै सीप नहुँदा मलाई धेरै चिन्ता लाग्ने गर्दथ्यो” कपाल काट्दै इन्द्रबहादुरले भन्नुभयो, “भारतमा सिकेको सीपले आत्मनिर्भर मात्र नभई स्वाभिमानी समेत बनायो।” उहाँले कुनै न कुनै सीप हरेक व्यक्तिमा हुनुपर्ने र जसका कारण सजिलै आत्मनिर्भर बन्न सकिने बताउनुभयो।

आफूलाई सानैदेखि गाउँमा कपाल काट्नेमा निकै रुचि लाग्ने गरेको उहाँ सम्झनुहुन्छ। आफ्नो रुचिलाई सीपमा बदल्दै आत्मनिर्भर गरेर मनग्ये आम्दानी गरिरहनुभएका इन्द्रबहादुर रोजगारभन्दा व्यवसायले

Awareness by SKF

सन्तुष्टी मिल्ने गरेको बताउनुहुन्छ। सामान्य जीविकोपार्जनको लागि पनि परिवारबाट टाढा गएर काम गर्नुपर्ने बाध्यता भएको समयमा आफूले सिकेको सीपका कारण जन्मथलोमै बसेर आम्दानी गरिरहेको उहाँले सुनाउनुभयो।

इन्द्रसँगै श्रीमती मोनिकाले सोही ठाउँमै मोनिका ब्युटिपार्लर चलाउनुभएको छ। दुवैतर्फ सबै चाँजोपाँजो मिलाउने मोनिका पनि सीपले भरिपुर्ण हुनुहुन्छ। दुवै जनाको मेहनत र निरन्तर कर्मका कारण अहिलेसँगै बसेर व्यवसाय सञ्चालन गरी मनग्ये आम्दानी गर्दा मोनिका पनि सन्तुष्ट हुनुहुन्छ। महिलाले नेतृत्व गरेर आफैँ खटिएर व्यवसाय सञ्चालन गर्दा सफल हुने भन्दै उहाँले महिला र पुरुष बराबर भएकोले दुवैले बराबर मेहनत गर्नुपर्ने बताउनुभयो।

रु ३५ हजारबाट सुरु गरेको शैलुन व्यवसाय अहिले ३५ लाख भन्दा माथि पुगेको सञ्चालक इन्द्रबहादुरले बताउनुभयो। पुरुष र महिला पार्लर दुवैमा गरेर मासिक रु एक लाख २० हजार बचत हुने गरेको उहाँहरुको भनाइ छ। “दुवैतर्फ गरेर औसतमा ६०/६० हजार बचत गर्नसकिएको छ”, उहाँ भन्नुहुन्छ, “आत्मसन्तुष्टिको कुरामा केही कमी छैन, सीपले अवसर पाएको ठानेको छु।” सो शैलुनमा सेवा लिने जोकोही पनि सन्तुष्ट भएर फर्किने गरेका छन्।

कुँवर दम्पतीले शैलुन व्यवसायबाट पाँच जनालाई रोजगारी दिनुभएको छ। इन्द्रबहादुर स्थानीय पालिकाले दिने शैलुनका तालिममा पनि मुख्य प्रशिक्षक भएर पुग्नुभएको छ। अहिलेसम्म एक सय ५० जनालाई सीप सिकाएको उहाँले बताउनुभयो।

इन्द्र बहादुर कुँवर नेपाल नाई संघ गुल्मीका उपाध्यक्ष समेत हुनुहुन्छ। शैलुन व्यवसाय गर्नेहरु संस्थागत रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि उहाँको जोड छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया