Place for ads

Awareness

विकासमा अब्बल बन्दै रेसुङ्गा: भौतिक पूर्वाधारदेखि अत्याधुनिक पार्क सम्म



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: स्थानीय तहको निर्वाचन अघिसम्म गुल्मी सदरमुकाम तम्घासको शिरमा ऐतिहासिक तपोभूमि एवम् धार्मिक क्षेत्र रेसुङ्गा विकट थियो। रेसुङ्गा पुग्ने सडकका ठाउँ-ठाउँमा खाडल र हिलाम्मे हुँदा दर्शनार्थीहरु जोखिम मोल्नुभन्दा पैदलै उकालो चढ्नु पर्ने बाध्यता थियो। महादेवि पोखरीबाट यज्ञशाला हुँदै शिद्धको मन्दिरसम्म जाने सडकमा लेउ लागेर पैदल यात्रामा समेत उत्तिकै सकस थियो।

जनप्रतिनिधिहरु आएपछि भने रेसुङ्गा धार्मिक स्थल सुगम बन्दै गएको छ। फराकिलो सडकले दर्शनार्थीहरु सहजै रेसुङ्गाको शिरमा पुग्न सक्छन्। तम्घासदेखि रेसुङ्गा धार्मिक क्षेत्रको महादेव पोखरीसम्म ग्रावेलिङ्ग र नाली कटान गरी कालोपत्रे गर्ने चरणमा रहेको छ। महादेव पोखरीदेखि माथि रहेको यज्ञशाला हुँदै शिद्धको मन्दिर र भ्युटावर सम्म पुग्ने अकार्षक रेलिङ्ग सहितको सिढीले रेसुङ्गाको सुन्दरतामा इट्टा थप्ने काम गरेको छ।

Get Vaccinated

विगत ४ दशकदेखि हुन नसकेको विकास जनप्रनिधिहरु आएपछि ४ वर्षमै सम्भव भएको त्यहाँका उद्योगि व्यवसायी कृष्णप्रसाद भण्डारीले बताउँछन्। गुल्मी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका भण्डारीले कल्पनानै नगरको नमूना विकास रेसुङ्गामा देख्न पाएको भन्दै खुशी व्यक्त गरे। ‘ईच्छा शक्ति भए विकासले फड्को मार्न धेरै वर्ष कुर्नु पर्दैन भन्ने ज्वलन्त उदाहरण भएको छ।’, उनले भने ।

रेसुङ्गा धार्मिक क्षेत्र अन्तर्गत महादेव पोखरीदेखि यज्ञशाला सम्म १ करोड ९२ लाख लागतमा सिँढी निर्माण गरिएको निर्माण समितिको अध्यक्ष रहेका भण्डारीले जानकारी दिए। १२ फिट चौडाईमा २ लेन बिभाजन गरी बीच भाग र दायाँबायाँ ३ लाइनमा आकर्षक रेलिङसहित ९९६ स्टेपको सिँढी चढ्दै पैदल यात्रा गर्ने दर्शनार्थीको भिडलाई यसले बढाएको छ। यज्ञशालादेखि माथि रहेको शिद्ध मन्दिरसम्म पुग्ने बाटोमा समेत रेसुङ्गा संरक्षण समितिले सिढि निर्माणको कामलाई अघि बढाएको छ।

रेसुङ्गाका लागि अर्को पहिचानको रुपमा रहेको गौशाला व्यवस्थापनले यहाँको विकासमा थप टेवा पुगेको छ । विश्व हिन्दु महासंघका अध्यक्ष समेत रहेका गौशालाका व्यवस्थापन समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले गौमुत्र संकलन र प्रशोधन गरि औषधीका रुपमा बिक्रि बितरण सुरु गरिएको बताए। पछिल्लो दुई वर्षमा गौशला क्षेत्रको मुहार नै फेरिएको यहाँका स्थानीयहरु बताउने गर्छन् । छाया चौपायाहरु स्यहार सुसार नपाएर मर्ने दुब्लाउने र सदरमुकाम तम्घास बजारसम्म आएर आतंक नै मच्चाउने समस्या हल भएको छ । गौशालामा १५० बढि गाईले उचित संसरक्षण पाएका छन् ।

Awareness by SKF

गौशालामा गाईलाई जाडो नहोस भन्नका लागि काठको तला र क्याम्प निर्माण गरिएको छ । भक्तजनहरुलाई आवासको ब्यवस्था गरिएको छ भने ब्यवस्थित शौचालयको निर्माण कार्य जारि रहेको छ । अध्यक्ष भुसालका अनुसार स्वर्गद्वारी आश्रमका स्वामी भागवतानन्दले गाई संरक्षणकै लागि ६० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । उनले ३० लाख रकम उपलब्ध गराई सकेका छन् भने बाँकी ३० लाख पनि उपलब्ध गराउने भुसालले बताए । उक्त रकमबाट मेशिन र अन्य प्रविधीहरु समेत खरिद गरि गौमुत्र संकलन गरि प्रशोेधन गरिने उल्लेख गरे ।

नगरप्रमुख सधैँ सकरात्मक
नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापति समेत रहेका सुरेश चन्द्र भुसालले रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल सकरात्मक भएकै कारण रेसुङ्गा धार्मिक क्षेत्रको विकासले फड्को मार्न सकेको बताउँछन्।

‘नगरप्रमुखले रेसुङ्गाको विकासमा हाम्रो कुरा सुन्नु हुन्छ र उहाँ आफै पनि ब्यक्तिगत रुपमै सकरात्मक हुनुहुन्छ ।’–उनले भने, ‘नेता भुसाललाई लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल, पूर्व मन्त्री लिला गिरीले लगायतले समेत साथ दिएका कारण रेसुङ्गाको बिकासमा थप टेवा पुगेको छ ।’

COVID-19

रेसुङ्गामा सुविधा सम्पन्न रिसोर्ट
रेसुङ्गा धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरौं भन्ने मान्यता रहे पनि चिया पिउने समेत ठाउँ नहुँदा रहेको समस्यहा अहिले हटेको छ । होटल पौवा प्रालिले त्यस ठाउँमा सेवा बिस्तार गरेपछि विगतका समस्या हटेर खाने बस्ने तथा चिया नास्ताको सुविधा दर्शनार्थीले सजिलै पाउने भएका छन् । पछिल्ल्लो चार वर्षको अवधिमा सानो रेसुङ्गामा आवास सहित शिद्धको सुन्दर मन्दिरहरु समेत निर्माण भएका छन् । यज्ञशालामा सुविधा सम्पन्न आवास गृह बनेको छ ।

देशकै नमूना रेसुङ्गा पार्क
सदरमुकाम तम्घासबाट नजिकै पर्ने रेसुङ्गा धार्मिक क्षेत्रको अर्को आकर्षक गन्तब्य हो गर्जुरा । प्राकृतिक रुपमै आकर्षक गन्तब्य गर्जुरामा देश मै नमुना पार्क बन्दै छ । गर्जुरा रेसुङ्गा पर्यटन पार्कको केहि दिन अघि मात्र नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका छन्।
उनकै पहलमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीका अनुसार पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेकोछ । पार्क निर्माण गर्नका लागि ७ करोडको लागत अनुमानमा ठेक्का सम्झौता गरिएको छ ।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिला जेभि तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ । पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाको लागतमा २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरि सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले जानकारी दिए । बिशाल बन क्षेत्रमा सल्लाका रुखको सुस्साहट र चराचुरुङ्गीको चिरविराहटका बीचमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षती नगरिकन काम अगाडी बढाइने मरासिनीले बताए ।

पर्यटकीय पार्क तम्घास आउने मानिसका लागि आनन्द लिने स्थल बन्ने नगरप्रमुख भुसालको भनाई छ । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । पार्क भित्र भ्युटावर, भिरमा पिङ्ग, पाचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, भलिवल र व्याडमिण्टन मैदान, बिचबिचमा पैदलमा मार्ग बाग्लुङबाट ल्याइएको ढुंगाबाट, शौचालय, टिकट काउन्टर, बिभिन्न जनावरमा आकृति देखिने फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग, निर्माण गरिने रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए । वन क्षेत्र रहेकाले कुनैपनि विवाद नभएमा तोकिएको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी चुरा भण्डारीको भनाई छ ।

सोही स्थानमा दोश्रो चरणमा सुइमिङ्ग पुल र जनवार उद्धार स्थल पनि निर्माण गरिने भएको छ । जिल्ला सदरमुकाम तम्घास आउने पर्यटकलाई रेसुङ्गा सम्म लैजाने क्रममा बिचमा थप आकर्षक बढाउनको लागि गर्जुरा रेसुङ्गा पर्यटन पार्क बनाउन लागिएको हो । रेसुङ्गा क्षेत्रको पछिल्लो बिकास निर्माणको अनुगमनमा पुगेकी त्यस नगरपालिका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सिता भण्डारीले गर्न चाहे असम्भव केहि छैन भन्ने उदाहरण रेसुङ्गमा भएको विकास निर्माणको प्रगतिले दिने दावी गरिन् ।

नागरिक समाजका अगुवा पदम पाण्डे भने यतिले नै सन्तोष गर्न सकिने अवस्था नरहेकोले रेसुङ्गाको समग्र विकासमा सबै सरोकारवाला र विज्ञ सहितको रणनैतिक योजना बनाउनु पर्ने नगरपालिकालाई सुझाव दिन्छन् । ‘पछिल्लो चरण केहि संरचना बनेका छन्, त्यति बन्नुले मात्रै रेसुङ्गाको समग्र पर्यटन विकास सम्भव छैन’-उनले भने ।

यस कारण रेसुङ्गाको महिमा
उनै रेसुङ्गा संरक्षण समितिका अध्यक्ष तथा हिन्दु धर्म ग्रन्थका ज्ञाता सुरेशचन्द्र भुसालका अनुसार द्धवापार युगदेखि ऋषिहरुले तपश्या गरेको थलो हो रेसुङ्गा । रेसुङ्गा क्षेत्रलाई शिद्धभूमि, अमृत भूमि, तपोभूमि जसमनी सम्प्रदायिकको उदेगम भुमि पनि भन्ने गरिन्छ।

मानव चर्चामा द्धवापार युगका ऋर्षे श्रृंगेश्वरले तपश्या गरेको भन्ने मान्यता छ। ‘द्धवापर युगका राजा दशरथलाई पुत्र लाभ नभएपछि रेसुङ्गामा तपस्या गरेका उनै ऋषि श्रृगेश्वरलाई बोलाईयो र पुत्रेष्टी यज्ञ (हरिवंश पुराण) लगाईयो । त्यस पछि राजा दशरथलाई रामचन्द्र सहित चार भाई छोराहरु जन्मिए । भगवान रामचन्द्र हुर्केपछि रेसुङ्गामा ऋषे श्रृङ्गालाई भेट्न विश्वामिका ऋषिलाई लिएर आए । त्यस बेला भगवान रामचन्द्रले के अभाव छ भनेर सोधे । जवाफमा ऋषे श्रृंगाले अरु सबै मलाई प्रयाप्त छ । तर स्नान गर्नका लागि अलिकती जलको अभाव छ भनेर भने ।

त्यस पछि भगवान रामले उनले तपश्या गरेको स्थान नजिकै बाण हानेर पानी निकालि दिए । जहाँ प्रशस्त पानी जम्न थाल्यो ।’–भुसालले भने, ‘जसलाई अहिले पनि राम कुवाका रुपमा चिनिन्छ ।’ त्यस कुवालाई बिचित्र कुवा पनि भन्न सकिने भुसाल बताउँछन् । उक्त कुवामा वर्षा यामको समयमा पनि पानी बढी भएर पोखिदैन भने हिउँदको सुख्खा यामा सुकेर सानो पनि हुँदैन । सधै एकनासको पानी सिंचित हुने त्यस कुवामा जति जना मानिसहरुले पानी बोकेर लगे पनि उत्तिनै सिचित हुने गर्दछ ।

उनका अनुसार संसारमा २७ वटा देवगिरी पर्वतहरु छन् । ती मध्येको एउटा पर्वत हो रेसुङ्गा । समुन्द्र मन्थनमा राक्षस र देउताहरु बीच द्वन्द चलेको बेला गरुढले क्लस टिपेर हिडे । त्यही क्रममा एक थोप अमृत रेसुङ्गामा खसेकाले यसलाई अमृत भूमि भन्ने गरिएको हो । विभिन्न ऋािषहरुले आएर तपश्या गरि शिद्धि प्राप्त गरेकोले शिद्धभूमि पनि भन्ने गरिन्छ । १८ औं सताब्दीमा शशीधर स्वामीले तपश्या गर्दा जसमनी सम्प्रदायिहरुको उदेगम थलो रेसुङ्गालाई भनेको अभिलेखहरु रहेको भुसालले बताए । उनी भन्छन् –‘उनले त्यति बेला यो पनि भनेका छन कि जातपात उच निच केही होईन् । मुर्ति पुजाले मात्रै भगवान प्राप्त गर्न सकिदैन् । उनका हस्त लिखित रचनाहरु अहिले पनि तम्घासको किरण पुस्ताकालयमा सुरक्षित रहेको छ ।’

शशिधर पछि उनका छोरा लक्ष्मीनारयाणले तपाश्या गरेका थिए । त्यस पछि उनका काका ठाकुर प्रसादले तपश्या गरे । १९ औं सताब्दीमा आएर स्वामी यदुकानन्दले तपश्या गर्न सुरु गरे । श्री ३ महराजहरु उनका भक्त थिए । त्यसैले पनि जुद्ध शम्शेर र उनका भाई भारदारहरु रेसुङ्गामा आएर यज्ञशाला लगायतका संरचनाहरु निर्माण गरि दिए । रणबहादुर शाह उनका भाईहरु समेत भक्त थिए । जंगबहादुर राण यदुकानन्दलाई भेट्न रेसुङ्गा मै आए । त्यति बेला असर्फी राखेर स्वामी यदुकानन्दलाई उनले ढोग्न खोज्दा यदुकानन्दले यस्ता असर्फी रुखबाट जति पनि खसाल्दीन्छु भनेर उल्लाएको किमदन्ती रहेको भुसालको भनाई छ ।

उनका अनुसार २०११ सालमा यदुकानन्दले यज्ञशाला बाहेकका सबै संरचनाहरु जलाएर ध्वस्त पारे । छ बिसा भक्त भक्तेनी (१२० जना) बस्ने आवास गृहदेखि सबै संरचनाहरु ३६ टिन घिउ खन्यार जलाई दिए । २०१६ सालमा राजा महेन्द्र तत्कालिन प्रधानमन्त्री बिशेश्वर प्रसाद कोेईरालासहित गुल्मी तम्घासको भ्रमणमा आए । रेसुङ्गामा बाबु बाजेको पालादेखि लामो समयसम्म पुजा अर्चना गर्दै आएका उपल्लो तम्घासका १०२ बर्षीया पण्डित पर्शुराम उपाध्याय पन्थीले बताउँछन् । २०१६ सालमा राजा महेन्द्रको गुल्मी भ्रमण सम्झीदै उनले भन्छन्–‘विपी कोईराला मेरै घरमा आएर बस्नु भयो । त्यस पछि राजा महेन्द्रले आफू नगई विपीलाई मात्र रेसुङ्गमा स्वामी यदुकानन्दलाई भेट्न पठाउनु भयो । विपीलाई दर्शन दिनुको साटो नाङ्गै भएर यदुकानन्दले बिरोध जनाउँदै बोल्न समेत मानेन् । तम्घासमा अड्डा अदालत बस्न थालेपछि उनी थप रिसले चुरु हुँदै गए । रेसुङ्गालाई ध्वस्त पारेर २०१९ सालमा उनी काठमाण्डौ तिर हिँडे । त्यसपछि रेसुङ्गाको एउटा ईतिहास समाप्त भएको थियो ।

समाप्त प्रायः रेसुङ्गको ईतिहास र महिमा पुनः जगाउने काम २०४० को दशकमा आएर योगी नरहरीनाथले गरे । भुसालका अनुसार २०४१ सालमा २०४० जना ब्राम्हण सहित योगीनरहरीनाथले कोटी होम लगाए रेसुङ्गामा२५ हजार नगद भेटी र ३६ वटा गाई दान प्राप्त भयो । रेसुङ्गामा वेद विद्याश्रम र गौशला सञ्चालन गर्ने भए संकलित रकम र गाईहरु हस्तान्तरण गर्छु नत्र ब्राम्हणहरुलाई नै बाँढि दिन्छु भनेर तम्घासका समाजसेवीहरुसंग योगी नरहरी नाथले अक्कर थापेपछि तम्घासका समाजसेवी रुद्रबहादुर भुजेल, वखानसिंह श्रेष्ठ, ताराप्रसाद पाण्डे, जुभुङ्गका हरिप्रसाद गौतम, धागीथुमका गोपाल प्रसाद पन्थी लगायतका त्यति बेलाका अगुवा समाज सेवीले जिम्मा लिए । २०४० कै दशकबाट रेसुङ्गामा पुनःसंरचना निर्माण र विकासको काम सुरु भएको भुसालको भनाई छ । त्यस हिसाले रेसुङ्गाको आधुनिक विकास सुरु भएको झण्डै ४० बर्ष हुन लाग्यो ।

पछिल्लो चार वर्षमा रेसुङ्गा धार्मिक क्षेत्रमा भएको विकासले पनि सिङ्गो रेसुङ्गा नगरपालिकामा भएको विकासको प्रारुप देख्न सकिने त्यहाँका जनप्रतिनिधीहरुको दाबी छ । वडा नम्वर ७ का अध्यक्ष मोहनप्रसाद पाण्डे र ८ का अध्यक्ष भरत भलामीले भौतिक विकासमा रेसुङ्गा नगरपालिकाले फड्को मारे पनि प्रचार प्रसार हुन नसकेको बताउँछन् । यी दुई वडाध्यक्षहरुको वडामा भएको विकास अब्बल देखिन्छ ।

वडा नम्वर ८ मा दलित समुदायका विद्यार्थीहरुलाई कक्षा १२ सम्म सामुदायिक विद्यालयहरुमा वडा कार्यालयले नै निशुल्क अध्यापनको ब्यवस्था गरेको छ । सडक ममर्त सम्भारदेखि गोरेटो बाटो समेत पक्की गर्ने कार्य भएको छ।

वडा नम्वर ७ ले पनि अर्जुनडाँडाको धार्मिक क्षेत्रलाई आकर्षक गन्तव स्थान बनाउनुका साथै रेसुङ्गा नगरपालिकै गौरवको योजना उनाईचौरमा ट्रि हाउस निर्माण र खेल मैदान निर्माण भएपछि आन्तरिक पर्यटकहरुको घुँईचो लाग्न थालेको छ । तम्घास नेटा सडक पिच गर्न सुरु गरेको छ । वडाका हरेक टोलमा पुग्ने मोटर बाटोहरुको स्तर वृद्धिको काम भइरहेको वडाध्यक्ष पाण्डेले बताए ।

सदरमुकाम कै खाल्डो वडा नम्वर ९ का अध्यक्ष नारायण बराल (सुनार), २ का अध्यक्ष उदयबहादुर थापा, १ का अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले समेत आफ्नो क्षेत्रको विकासमा अब्बल बन्ने प्रयासमा छन् । नगरपालिकाका अन्य वडाहरु ग्रामिण भेगमा छन् । ति वडाहरुको विकासमा समेत त्यहाँका जनप्रतिनिधीहरुले राम्रै काम गरेको त्यहाँका नागरिकको भनाई छ ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया