राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अन्तर्गत गलुवामा खसेको पहिरो। पहिरोले करिडोर अवरुद्ध छ। तस्वीर: तारानाथ आचार्य/रासस
बागलुङ: यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ। बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन।
पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको सङ्ख्या तयार पारिएको हो। मनसुन शुरु भएसँगै जिल्ला विपद व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपतकालिन कार्ययोजना-२०७८’ ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्याङ्क तयार गरेको हो।
जिल्लाभर पहिराका कारण तीन हजार ५०० देखि चार हजार घरमा क्षति हुनसक्ने कार्ययोजनामा उल्लेख छ। पहिराको जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन्। यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। तीमध्ये केही पूर्ण रुपमा र केही आंशिक प्रभावित हुनेछन्।
मनसुनजन्य विपत्पछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो। पूर्वानुमानअनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो। “हामीले स्थानीय तहसँग जोखिमबारे छलफल गरेर तथ्याङ्क तयार गरेका छौँ, सोही अनुसार जोखिमसँग जुध्न सबै सरोकारवालालाई तयार रहन निर्देशन दिएका छौँ”, कार्कीले भन्नुभयो।
विपत् व्यवस्थापन समितिले कार्ययोजना पारित गरेर कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाअनुसार तीन हजार ४४३ पाँच वर्षमुनिका बालबालिका बाढीपहिराबाट प्रभावित हुनेछन्।
त्यस्तै ६० वर्षमाथिका ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत धेरै छ। तीन हजार ६९९ ज्येष्ठ नागरिक प्रभावित हुने पूर्वानुमान छ। गर्भवती ७६५ र सुत्केरी एक हजार ४०४ जना प्रभावित हुने अनुमानित तथ्याङ्क रहेको कार्कीले जानकारी दिनुभयो।
बागलुङमा रहेका विभिन्न नदी तथा खोला किनारका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको कार्ययोजनामा उल्लेख छ । कालीगण्डकी, बडिगाड, दरमखोला, निसीखोला, भुजीखोला, तमानखोला, ठेउलेखोला, अँधेरीखोला, दरौँदीखोला, उत्तरगङ्गालगायत खोला तथा नदी किनारका बस्तीहरु बाढीको जोखिममा छन।
“यहाँका सबै खोला किनारका तटीय क्षेत्र जोखिममा छन्”, विपद् व्यवस्थापन समितिले भनेको छ, “पूर्व तयारीमा खोला किनारका बस्तीहरु रहन आवश्यक छ।” कार्ययोजनाले उद्धार राहत तथा पुनस्र्थापना र सचेतनाका लागि उपलब्ध साधन स्रोतको समेत तथ्याङ्क तयार गरेको छ।
“उद्धार सामग्रीदेखि पुनस्र्थापनाका लागि आवश्यक योजना समेतमा छलफल भयो”, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश गौतमले भन्नुभयो, “सबै सरोकारवाला सतर्क रहने र तत्काल उद्धारमा लाग्ने भन्ने छ।”
जिल्लाका अधिकांश बस्ती सडक, भल र बाढीका कारण जोखिममा रहेको स्थानीय तहहरुले पूर्वानुमान गरेका छन। स्थानीय तहले गत वर्ष तयार गरेको बाढी पहिरोपीडितको तथ्याङ्क र यस वर्षको सम्भावित जोखिमको अवस्था हेरेर तथ्याङ्क तयार भएको हो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |