गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-५ रातामाटामा गएराति श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ती पुरुषले १२ वर्षअघि आफ्नी जेठी श्रीमतीको पनि यसैगरी हत्या गरेको र उक्त आरोपमा जेल सजायसमेत भोगेको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गएराति करिब ११:३५ बजे स्थानीय ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३७ वर्षीया मुना कुमालमाथि दाउराको चिर्पट प्रहार गरेका थिए।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागी अचेत अवस्थामा रहेकी मुनालाई प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो। तर, उपचारकै क्रममा आज बिहान करिब ९:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले यमबहादुर कुमाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमकिरण बोगटीका अनुसार घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक विवेक घलेको कमाण्डमा टोली खटाइएको छ।
इस्मा गाउँपालिका–५ का वडाध्यक्ष झबिन्द्र अर्यालका अनुसार मृतक मुनाका श्रीमान् यमबहादुरबाट यसअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो। करिब १२ वर्षअघि जेठी श्रीमतीको हत्या घटनामा उनले कारागार सजाय भोगेका थिए।
वडाध्यक्ष अर्यालका अनुसार गाउँमा ‘गोपाल’ भनेर चिनिने यमबहादुरले करिब १० वर्ष कारागार सजाय भोगेका थिए। त्यसपछि असल चालचलन भएको (अनुशासित) कैदीको सिफारिसमा उनले संविधान दिवसका अवसरमा आममाफी पाएर जेलमुक्त भएको बताइएको छ।
यस घटनाले स्थानीय क्षेत्रमा पुनः गम्भीर प्रश्न उठाएको छ। प्रहरीले भने विस्तृत अनुसन्धानपछि मात्रै घटनाको सम्पूर्ण विवरण सार्वजनिक हुने जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









