केही वर्ष पहिला हाम्रो घरमा एक हल गोरु थिए । एउटाको नाम काले थियो, अर्काको नाम लाले थियो । गाउँमा हाम्रो काले गोरुलाई जित्नसक्ने कसैका गोरु थिएनन्।
बडा लडाकु हाम्रो काले गोरुको चर्चा धेरै थियो । लालेको खासै चर्चा थिएन । काले गोरु अलि भगाहा किसिमको थियो । जोकोहीलाई टेर्दैनथ्यो ।
साना केटाकेटीलाई हेप्थ्यो, उस्तैपरे ठुला मान्छेलाई समेत लखेट्थ्यो । काले गोरु आयो भनेपछि सबै डराउँथे । अरु गोरु पनि सिंगौरी खेल्न डराउँथे ।
चर्न जाँदा उसको एकछत्र राज जस्तै थियो तर उसको विशेषता के थियो भने जोत्नलाई पनि एक नम्बर थियो । अरु गोरूले जोत्ने दुई दिनको मेलो हाम्रा हल गोरुले एकै दिनमा जोत्थे ।
हसुर्ने मामिलामा पनि अरु गाई भैंसीभन्दा धेरै छिटो खान्थ्यो । मोटोघाटो र हेर्दै चिल्लो थियो।
जोत्नलाई एक नम्बर भए पनि भँगाहा थियो । पटक पटक जुवाको सैलो भाँच्यो ।
दुईपटक त जुवा समेत भाँच्यो । मनमत्त साँढे जस्तो भए पनि उसलाई जोत्न हामी हलीहरू खुसी हुन्थ्यौँ । खेतमा रोपाइँको बेलामा खोक लाउँदा दौडाउन ज्यादै आनन्द आउँथ्यो ।
बुढाघरे कान्छाबाको काले गोरुको नाम लिँदा पनि केटाकेटीको सातो जान्थ्यो । यसै गरी चल्दै थियो । काले गोरु क्रमशः बुढो हुँदै गयो । त्यतिबेला अहिले जस्तो ट्याक्टरको चलन थिएन ।
गाउँमा गाईगोरु पाल्थे । गाउँका सानासाना बाच्चाहरू बिस्तारै ठुला हुँदै गए । काले गोरुको हेपाहा प्रवृत्तिले ती बाछाबाछी वाक्क भएका थिए । रिसाउँथे मुर्मुरिन्थे तर जुध्ने आँट कसैको थिएन ।
एकदिन जेठाबाको बाच्छाले काले गोरुलाई बारीको छेउँमा घाँस खाइरहेको बेलामा पछाडिबाट घचेटेछ । काले गोरु ढिकमुनि पल्ट्यो ।
उसको ढाड भाँचिएछ । गाउँका सबैजना मिलेर बल्लबल्ल बोकेर घरमा ल्यायौँ । मलाई साह्रै पीर पर्यो । ढाड भाचिएको गोरुले जोत्न सक्ने कुरै भएन । मेरो चाहाना त उसको ढाड सन्चो होस् र फेरि ऊ जोत्न सक्ने होस् भन्ने थियो । तर अब त्यो केवल मेरो कल्पना मात्र हो ।
मलाई थाहा छ, ऊ फेरि तगडा होला र मेरो खेतबारी जोत्ला भन्ने आशामा बस्दा खेतबारी बाँझै हुनेभो ।
खेती गर्ने बेलामा घरको बलियो गोरु उठ्न नसक्ने गरी थला पर्यो । अब खेतबारी कसरी जोत्ने ? खेतबारी बाँझो राखे के खाने? पिरलो भयो । घरमा लाले गोरु त थियो नै ।
एउटा गोरुले जोत्न नमिल्ने । दिमाग फुरेन, के गरुँ कसो गरुँ ! आखिर खेतबारी बाँझो राख्न भएन । अन्यौलमा भएँ । हाम्रा गाउँमा हल जोर्ने चलन छ । जेठाबाको बाच्छोसित कम्ति रिस उठको थिएन ।
जति रिस उठे पनि मेरो बाध्यता खेतबारी बाँझो राख्न भएन । मेरो जुक्ति फिर्यो ।
त्यही जेठाबाको बाच्छो र मेरो लाले गोरुको हल मिलाएर यो वर्षको खेती गर्ने निधो गरेँ । खेतबारी बाँझो राख्नभन्दा यो उपाय ठिक लाग्यो ।
(लेखक : गुल्मीको पिपलधारा निवासी नेकपा एमालेका केन्द्रिय सदस्य हुन )
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










