गुल्मी: नेपाली लोकसंगीतको परिचय बनिसकेकी गायिका विष्णु माझी आज एउटा बलियो ब्राण्डको रूपमा स्थापित छिन्। तर उनको गीतमा अझ मिठास भर्ने काम उनका पति तथा सर्जक सुन्दरमणि अधिकारीले गर्दै आएका छन्। अधिकारीका गहकिला यथार्थ शब्द र मनै छुने लयमा विष्णु माझीको सुरीलो आवाज मिसिँदा, हरेक गीत श्रोताको मनमा गहिरो छाप छोड्छ।
यस्तै एक नवीन गीतमा विष्णु माझीको स्वर र सुन्दरमणि अधिकारीको सिर्जनामा अर्को चमक थप्ने मोडलको नाम हो— ललिता पौडेल। गुल्मीकी छोरी ललिता आफ्नो मौलिक अभिनय र स्वाभाविक भाव–भंगिमाले दर्शकको मन जित्ने कलाकार हुन्।
ललिताको विशेषता के भने, उनी अरूका गीतमा देखिँदिनन्, सामाजिक सञ्जालमा पनि देखिँदिनन्, न त कुनै मिडियामा देखिन्छिन्। दर्शकले उनलाई देख्ने अवसर प्रायः एउटै अवस्थामा हुन्छ— जब विष्णु माझीको नयाँ गीत आउँछ। विष्णु माझीको गीत बाहेक ललिता कतै देखिँदिनन्, न पर्दामा, न प्रचारमा।
यही कारणले, ललिता पौडेल आज विष्णु माझीका गीतसँगै परिचित हुने एक मात्र मोडलको रूपमा ब्राण्ड बनिसकेकी छिन्। उनको अभिनय गीतको आत्मा जस्तै हुन्छ— कथा सुनाउँछ, भाव व्यक्त गर्छ र गीतलाई जीवन्त बनाउँछ। मिडियाबाजी र हल्ला नगरी पनि, आफ्नो कला मात्रको बलमा शिखरमा पुग्न सकिन्छ भन्ने उदाहरण ललिता स्वयं हुन्।
गुल्मीकी यो छोरी अब लोकसंगीतको सौन्दर्य र मौलिकताको प्रतीक बनेर ‘गुल्मीको गौरव’को रूपमा चम्किरहेकी छिन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |