२०३० साल असार असार १० गते राती सम्भवतः अहिले सम्मकै भिषण बाढि पहिरो बाट गुल्मेलीहरुले भोगेको क्षति हुनु पर्छ । त्यस दिन राती मैले पनि मेरो मावली परिबारको चार जनालाई गुमाएको छु र फिलिमको कहानी जस्तै लाग्ने तिन जनालाई जिवितै त्यस भिषण बाढि पहिरोमा फेला पारेको घटना मेरा मानसपटलमा ताजै छ ।
त्यस बर्षको असार १० गते राती भिषण बाढि पहिरोले गुल्मी जिल्लाका खोला छेउँका अधिकांस वस्ती , ति ठुला चौपारीहरु बगायो भन्ने सुन्थे । तर मैले आफैले देखेको मात्रै दृश्य भन्छु । हालको मुसिकोट नगरपालिका ३ घर हो मेरो । मेरै छिमेक वडा नम्बर २ अमराई कुन्दला मेरो मावली घर हो । त्यस रातको बिहान उठने वित्तिकै बासी आटो मरौटीको छोप सित खाँदै थिएँ ।
एक्कासी मेरो आमा, मुन्तेरा ठुल्याँ सहित सिङ्गो गाउँमा रुवाबासी सुरु भयो । केहिबेर पछि मलाई बुई चढाएर आमाले मावला लगे पछि म खेल्ने घर –आँगनमा खोला बगेको थियो । त्यति बेला मेरो मावली परिबारको हवेली घर थियो । बंगालो , उरिम , तबेलामा घोंडा सहित रज्जागज्जा सम्पत्तीका मालिक थिए ।
जेठा मामा जयपाल सुनार , कान्छा मामा बेलबहादुर सुनार उहाँलाई गाउँबासीले अरु नामले पुकार्थे जुन नाम मैले अहिले लिईन । त्यही गाउँमा हाल गुल्मीका युवा नेता श्रीराम महतको हजुरबुवाहरु सबै भन्दा धनी थिए । कुन्दाले साहु भने पछि इस्मा सम्म कहलाएका सभ्रान्त परिबार थिए ।
धन–सम्पत्तीमा त्यो परिबार संग टक्कर लिने त्यो बेला कुनै दलित थिए भने मेरो मावली परिबार मात्रै थियो । त्यही परिबारको श्रीसम्पत्ती २०३० साल असार १० गते रातीको बाढि पहिरोले सखाप पारिदिएको हो ।
हवेलीका मालिक जो बाँचेका थिए पाटी पौवामा बस्न बाध्य भए । त्यस दिन झण्डै चौबिस घण्टा सम्म मावली परिबार गुमाएका थियौं हामीले । करिव ६५ बर्षीया आबै ( हजुर आमा ) पुतली सुनार , ३५ बर्षीय मामा बेलबहादुर सुनार , ३ बर्षिया बहिनी कालिका र ( नाम सम्झना भएन ) ११ महिनाकी बहिनी मृत फेला परेका थिए ।
अरु तिन जना माईजु, रामेदाई र नानी देई बेपत्ता थिए । त्यो घटना फिलिमको कथा बन्छ । उनिहरुलाई गाउँका उद्धार गर्ने मान्छेहरुले उनिहरुको लास फेला पार्न पाए पनि धन्य हुन्थ्यो भन्दै थिए । तर जिवितै फेला पारे । त्यो एउटा जादुयी चमत्कार जस्तै थियो ।
रामे दाई, अर्थात रामबहादुर सुनार संग आज विहान त्यस घटनाको फोनमा स्मरण गरियो । बाँचेकी नानी देई अहिले विवाहित घर पेंगामा हुनुहुन्छ । माईजु संग पनि बेला बेलामा भेट हुन्छ ।
झण्डै बंश नास हुन पुगेको परिबारबाट बाँचेका सदस्य रामबहादुर सुनारले पुनः रज्जागज्जाको अबस्थामा पुराउनु भएको छ । हवेलीको मालिकका श्रीमति र दुई छोराछोरी खस्थोकको बचत घरमा काजकिरिया गरेको र धेरै दिन त्यही घरमा आश्रय लिएको म सम्झिन्छु ।
ति दुनाह भैर्सी, ठेकी र कहिले नअटेर कसौंडीमा राखिएको घिउ चोर्दै खाँदै गरेको पनि सम्झीन्छु । हजुर आमा दुईटी थिए । दुबै–कानका ति सुन , श्रीफुल लगायतका गहना, त्यो भोटे कुकुर अझै आँखा वरीपरि घुम्छ ।
घर हवेली त थियो । तर अहिलेको जस्तो शौचालय थिएन । अलिपरको खोलामा हामी केटाकेटी जान्थिम भने पाका मान्छेहरु व्यवस्थित शौचालयका रुपमा घर देखि अलि नजिकको चिलाउनेको ठुटोमा शौचा गर्न जान्थे । जहाँ ढुङ्गा , घाँसका पात र झारहरुहरु पखाल्ने पानीको रुपमा देखिन्थ्यो ।
त्यसै रात हो निस्ते खोलाको भराह लगायत गुप्रै साँघुहरु ( काठको पुल ) बगाएको । अहिले शाहघाट बनाईएको भराह खोलमा त्यो साँघु सहित निकै ठुलो र पुरानो पिपल र स्वामीको रुख थियो । त्यसै दिन रातीको बाढिले जरा मात्रै राखेर बगाएको थियो ।
मेरो मावली परिबारको त्यो बिपत्तीमा झस्स सुने जस्तो लाग्छ तम्घास बाट रेडक्रश आए भन्ने कुरा तर एकिन हो जस्तो नलागेर आज बिहान नेपाल रेडक्रश सोसाईटी गुल्मीका अगुवा राजेन्द्र प्रसाद श्रेष्ठलाई फोन गरेर सोंधे ।
उहाँले खै भाई हुन त मैले २०३४ सालमा एसलसी दिएको हुँ थाह भएन त्यो घटना भन्दै शशी पन्थी सरलाई सोध्न लगाउनु भयो । शशी सरलाई मैले फोन गरेर सोध्धा उहाँले भन्नु भयो ‘हो, त्यसै २०३० सालमा रेडक्रश गठन भएको हो र त्यस तदर्थ समितिको सभापति तम्घासका हेमराज सुवेदी हुनुहुन्थ्यो , त्यस पछि बैकुण्ठबहादुर चन्द साभाति हुनु भएको हो । ’
उहाँले थप्नु भयो – ‘म त्यति बेला भैरहवामा थिएँ, हुन सक्छ त्यस रातको बाढी पहिरोमा रेडक्रसको टोली उद्धार गर्न पुगेको , त्यो साल मनबाग लगायत थुर्पै स्थानमा पहिरोले ठुलो क्षति पुराएको थियो । ’ स्मृतिमा थुप्रै घटना ताजै छन । बाँकी क्रमशः पस्किने छु…
( स्मृति प्रेम सुनारको )
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |