विनया ढकाल, काठमाडौं: सनातन हिन्दुधर्मको एक महत्वपूर्ण सांस्कृतिक परम्परागत चाड तीज आएको छ। सजिसजाउ र सोह्र सिङ्गार विशेष पर्वका रूपमा तीजलाई लिने गरिन्छ। पहाडी भेगका हिन्दु नारीहरुले मनाउने विशेष सांस्कृतिक महत्व बोकेको महान चाड हो तीज । तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ।
पार्वतीले भगवान शिवजी स्वामी पाऊँ भनी भाद्रशुक्लपक्षको त्रियोदशीका दिन कठोर व्रत बसी भगवान शिवजी स्वामी प्राप्त गरेको विश्वास मानि यस दिनमा नेपाली हिन्दु विवाहिता नारीहरुले आफ्नो पतिको दीर्घायुको कामना, परिवारको राम्रो र प्रगतिको कामनाका लागि र अविवाहिताले सुयोग्य पति प्राप्तिको कामना सहित व्रत बस्दै आएका छन् ।
तिजको अघिल्लो दिन राति दर खाने चलन रहिआएको छ । तिजको दर खाने दिन हिन्दु महिलाहरुको (विशेष गरी यो चाड मनाउने समुदायका) विशेष महत्वको दिन हो ।
तीजको व्रत बस्ने नारीहरूले दर पकाउने चलना हुन्छ । आफ्नो क्षमता अनुसार मिठा-मिठा परिकार पकाउने रातिसम्म बस्ने नाचगान गर्ने, दुख सुखका कुराहरु साटासाट गर्ने र मनका बहहरु घर(माइती बिसाउने चलन छ।
विवाह गरेर टाढा–टाढा पुगेका छोरीचेलीलाई माइतीले आदरसाथ निमन्त्रणा गर्ने र चेलीले माइती घरको आँगनीमा दुख सुखका कुराहरु साटासाट गरेर तीज मनाउने चलन छ। कामविशेषले माइती आउन नपाएका चेलीले आफ्ना पतिको घरमा रमाइलोसँग तीज मनाउने चलन छ ।
समयको परिवर्तनसँगै नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण पनि व्यापक परिवर्तन आएको छ । १० वर्षको शसस्त्र विद्रोह, नेपाली युवाहरूको वैदेशिक यात्रा, आर्थिक उन्नति र शैक्षिक गुणस्तरमा वृद्धिसँगै जीवन शैली फेरिएको छ ।
फेरिएको जीवन शैलीसँगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ। तिजको दर खाने दिनको स्वरुपमा पनि परिवर्तन आएको छ ।
केही वर्ष यता तिजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ । अब यो तिजको अघिल्लो दिन मात्रै नभएर महिनौ चल्न थालेको छ ।
आजभोलि दरको नाममा महिनौँदेखि रमाउन थालेका छन्। विभिन्न फेसन, र सजिसजावटले रङगिन थालेका छन्। दरकै नाममा व्यस्त पनि हुन थालेका छन्। यसले समाजमा हुर्कदै गरेका नयाँ पुस्तामा ठूलो विकृति ल्याएको छ।
तीजको दरखाने प्रचलनमा आएको परिवर्तनलाई सकारात्मक तर्कले भन्दा नकारात्मक तर्कले विश्लेषण गर्ने जमात ठुलो छ। अब यसलाई सकारात्मक पक्षबाट विश्लेषण गर्नुपर्ने समय पनि आइसकेको छ।
महिलाहरुले तीज आउनु अगावै दिदीबहिनी भेला भएर दर खान थालेको चलनका लागि चाहिँ किन यति धेरै रोइलो? महिला दिदीबहिनीहरुलाई मात्रै किन समाजमा बिकृति बढाएको आरोप? यसभित्र रहेको सकारात्मक पक्षलाई किन कोही पनि बिश्लेषण गर्ने पक्ष्यमा उभिन सकेका छैनन् ?
सायद हाम्रो समाज पुरुषप्रधान भएकाले पनि होला नारी बिशेषको यो पर्वमा आएको परिवर्तनको यतिधेरै विरोध जन्मिएको ।
केही समय देखि आफूले वर्षभरी काम गरेको कार्यालय संघ–संस्थाहरुबाट राजीखुसीले आफ्ना महिला कर्मचारीलाई दर खुवाउने प्रचलन सुरु भएको छ । यसमा आपत्ति हुनुपर्ने कुनै कारण छैन ।
नेपालमा भन्दा नेपाल बाहिर बस्ने महिला दिदीबहिनीहरुले तीजको दरखाने कार्यक्रम महिनौ दिन अघिदेखि गर्दैआएको देखिन्छ । विदेशमा कडा परिश्रम गरेर हतास भएका दिदीबहिनी मात्रै नभएर दाजुभाइ पनि तीजको दर कार्यक्रममा सहभागी हुने र वर्षको एकचोटि आफ्ना देशका आफन्तसँग रमाइलो गर्ने गरेका छन्।
यसैको प्रभाव नेपालमा पनि परेको भन्ने गुनासो बढ्दो छ । विदेशिएका चेलीहरुले नेपाली संस्कार संस्कृति लाई भड्किलो पार्दै बिकृति पैदा गरेको विश्लेषकहरूको दाबी छ तर यसलाई नकारात्मक दृष्टिले मात्र हेर्न नहुने मेरो बुझाइ छ । नकारात्मक टिप्पणी मात्रै गर्नुभन्दा अनावश्यक भड्किलो पक्ष माथि गैरआवासीय नेपाली समाजलाई ध्यानाकर्षण गराउनु उचित देखिन्छ।
समाजमा तीज जति भड्किलो हुँदै गएको छ त्योभन्दा बढी यस विषयलाई लिएर गरिने टिकाटिप्पणी, व्यङ्ग्य र मिडियावाजीले बढी मात्रामा विकृति ल्याउन सहयोग गरेका छन्। तिजको दर खाने विषयलाई लिएर जति सकारात्मक सोच्न सकिन्छ त्यतिनै बढी यसमा बिकृति विसंगति भित्रिएको कुरालाई नकार्न भने सकिँदैन।
पहाडी भेगमा बसोवास गर्ने र काठमाडौं उपत्यका आसपासमा बसोबास गर्ने महिलाहरूको सामाजिक, आर्थिक, पारिवारिक, शैक्षिक आदि अवस्थाहरु मा थोरबहुत भिन्नता रहेपनि धेरै कुरामा समानता छ भने उपत्यकामा नयाँ बसोबास गर्न आउने केही नवधनाढ्य सँग भने ठिक विपरीत प्राय नै समाजका समाज नवधनाढ्य वर्गले तीजलाई केही भड्किलो र भद्दा बनाएकै छन् ।
नेपालभित्र नवधनाढ्य वर्गले भित्र्याएको विकृतिलाई सबै वर्गका महिला दिदीबहिनीहरुले अवलम्बन गर्न थालेको तितो यथार्थ अवश्यपनि छ ।
आजको समयको गतिसँगै महिलाहरूको जीवन शैलीमा पनि व्यापक परिवर्तन आएको छ । आधुनिकताका नाममा नारीहरु झनझन पिडामा पर्दै गइरहेका छन्।
समाजमा तीज जति भड्किलो हुँदै गएको छ त्योभन्दा बढी यस विषयलाई लिएर गरिने टिकाटिप्पणी, व्यङ्ग्य र मिडियावाजीले बढी मात्रामा विकृति ल्याउन सहयोग गरेका छन् । तिजको दर खाने विषयलाई लिएर जति सकारात्मक सोच्न सकिन्छ त्यतिनै बढी यसमा बिकृति विसंगति भित्रिएको कुरालाई नकार्न भने सकिँदैन ।
जसको परिवारमा भ्रष्टाचारी छ उसका परिवारले चाहिनेभन्दा बढी नै रवाफ देखाएको उदाहरण हाम्रो समाजमा प्रशस्तै पाइन्छ । यसैको प्रतिफल तीजको दरखाने कार्यक्रममा पनि देख्न सकिन्छ ।
नारी स्वतन्त्रताको वास्तविक अर्थ पर्गेल्न नसक्नु पनि तिजको स्वरुप परिवर्तनको मुख्य कारण हो । देशको समग्र विकाससँगै यहाँका जनताको व्यक्तिगत जीवन पनि स्वाभाविक रूपले परिवर्तन हुँदै जान्छ । प
रिवर्तन जहिलेपनि समृद्धि तर्फ हुनुपर्छ र यो सकारात्मक पनि हुन्छ। तर नेपाली समाजमा भने यसको प्रभाव ठीक उल्टो छ। जीवन स्तर वृद्धि भनेको फेसन, देखावटी, मनोरञ्जनका रूपमा मात्रै बुझ्दै गरिरहेको देखिन्छ । यसले आफ्नो मौलिक संस्कार संस्कृतिमाथि नै बिकृति थोपरी दिएको छ ।
महिलाहरु सौन्दर्य लत्ता कपडा गरगहना भनेपछि मरिहत्ते गर्दछन र छिट्टै आकर्षित पनि भइहालल्छन् । नारीका यस्तै स्वभावलाई मध्यनजर गर्दै सुक्ष्म तरिकाले व्यापार व्यवसायको विज्ञापन हुँदै आएको छ।
तीज विशेष गीतहरुले नारी मनका दुख पिडा समबेदना हर्ष खुसी भन्दा फेसन देखावटी मनोरञ्जन साजसज्जा का सामग्रीहरूलाई प्रसय दिएको पाइन्छ । नेपाली सांगीतिक क्षेत्रका आशालाग्दा सर्जक गायकहरू बाटनै तीजगीतको अस्तित्व लोप हुनु दुःख लाग्दो पक्ष हो।
नेपाली समाजमा पुरुषले आफ्नो रबाफिया मानसिकता र आर्थिक स्थितिको प्रदर्शनीको लागि आफ्नै श्रीमाती, छोरी, बहिनी, बुहारी लाई माध्यम बनाइरहेको छ । मैले जसरी फलानाले श्रीमतीलाई पालेको देखाओस त भन्दै आफ्नो निकृष्ट पुरुषार्थ प्रदर्शनी गरिरहेको छ।
यो एउटा यस्तो चाड हो जसले दिदीबहिनीका समस्याहरुलाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने आदि आदि थुप्रै मौलिक विशेषता भएको सनातन हिन्दूहरूको एक विशष चाड हो।
त्यसैले यस चाडलाई विकृतिका रुपमा भन्दा पनि यसको गरिमा को रुपमा यसलाई स्वीकार गर्न सकियो भने बेलै मा यसको मौलिकता जोगिने छ। – शिलापत्र डटकम