Awareness

Get Vaccinated

प्रसिद्ध मनकामना मन्दिरको महत्व र महिमा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

काठमाडौं: मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थान हो। आफ्नो मनले चिताएको कामना अर्थात मनको इच्छा पूरा गर्ने भगवती वा देवी रुपमा मनकामनालाई पुजिन्छ । मनको इच्छा पुरा गर्ने भएकोले यो देवीको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । मानिसहरु अहिले पनि यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा पुग्छन्।

मनकामना मन्दिरको उत्पत्तिको बारेमा किम्वदन्ती

मनकामना माईका पुजारीका अनुसार, राजा रामशाहा (वि.सं. १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिइन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । त्यसपछि राजा अचानक विरामी भई स्वर्गिय भए । उनको अन्तेष्टि मस्र्याङदीनदीको–दरौदी दोभान रामशाह घाटमा गरियो । त्यसवेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गइन । भक्त लखन थापा शोकाकुल भई विलाप गर्दा रानीले, ‘तिम्रो इच्छा पूरा गर्न तिर्मै गाउँको एकछेउमा फेरी प्रकट हुनेछु’ भनेर भनिन रे । त्यसको महिनापछि हाल मनकामना रहेको ठाउँमा त्यहाँका एक व्यक्तिले गोरु जोत्दा हलो अड्की त्यसबाट दुध र रगत बग्न थालेछ।

दृव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्धारा पूजा गरेपछि रगत बग्न रोकिएको र सोही थलोमा देवीको मन्दिर स्थापना गरियो । सो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरि नित्य पूजा चलाउन जग्गा गुठी र विर्ता लालमोहर लगाइ दिएका थिए । मनकामना माईको हालको पुजारी लखन थापाको सत्रौ पुस्ताका सन्तान भएको पुजारीले भनाइ छ ।

नेपालको एकीकरण, राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावसँग जोडिएको मन्दिर गोरखा जिल्लाको पवित्र स्थल मनकामना गाविसमा मनकामना शक्तिपीठ रहेको छ । दसैंको महाष्टमीका दिन भगवतीको मन्दिरमा विशेष पूजा गरिन्छ । यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आशिर्वादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल हुनुभएको इतिहासमा उल्लेख छ । यस शक्तिपीठमा सम्पूर्ण मनोकांक्षा पुरा गर्न देशविदेशबाट भक्तजनहरू वर्षभरी नै आउने गर्छन् ।

यो मन्दिर परिसरमा १५ भन्दा बढी देवी देउताहरुको मन्दिरहरु रहेका छन् । ती मध्येको एउटा हो, वंकेश्वरी मन्दिर । यो मन्दिर मनकामना मन्दिरको पुर्वपट्टी अवस्थित छ जहाँ वाक्य फुट्न नसकेका वा लुला लङगडा बालबालिकालाई दर्शन गराएमा वालवालिकाको वोली फुट्ने र हातखुट्टा दहे हुन्छ भन्ने जनविश्वास रहि आएको छ । यहाँ विशेषताः अष्टमीका दिन बली चढाइन्छ ।

मनकामना कसरी पुग्न सकिन्छ?

Awareness by SKF

पैदल यात्रीले पृथ्वीराजमार्गको आँबुखैरेनीबा मस्र्याङदी नदीको सानो पुल तरेर करिब ४ घण्टाको उकालो पैदरयात्रा गरेपछि मनकामना मन्दिर पुग्न सकिन्छ । केवलकारबाट जान चाहेमा पृथ्वीराजमार्गसँगै, कुरिनटारबाट मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी मनकामना केवलकार नामक केवलकारको सुविधा छ । यो सुविधाको प्रयोग गरी तपाई मनकामना मन्दिर पुग्न सक्नुहुन्छ ।

यदी तपाई काठमाडौबाट जादै हुनुहुन्छ भने, तपाईले बस, कार या मोटरसाईकलबाट करिब १ सय २ किलोमिटर तय गरेपछि चितवन जिल्लाको कुरिनटार नजिकै, चरेस भन्ने स्थानमा पुग्नुहुनेछ । त्यहाँ तपाई, दर्शनार्थीहरुको सुविधाको लागि मनकामना मन्दिरको परिसर नजिकै सम्म पुग्न सक्ने गरी केवलकारको व्यवस्था गरिएको छ । मनकामना केवलकार नामक यो सुविधा अहिले सम्म नेपालको एकमात्र केवलकार सेवा हो । यो सेवाको माध्यमबाट १० देखि १५ मिनेट मै मन्दिर परिसरमा पुग्न सकिन्छ ।

मनकामना मन्दिर कहाँ पर्छ?

यो मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थित छ । यो मन्दिर सदरमुकामको पोखरीथोक वजारदेखि १२ किलोमिटर दक्षिण तनहू, आँवुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवन मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १ हजार ३ सय ३ मिटर उचाइमा अवस्थित यो मन्दिरको परिसरबाटबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरतर्फ अन्नपूर्णी र मनास्लु हिमालका थुम्कोहरु देख्न सकिन्छ ।

मनकामना मन्दिर परिसरको चाँपको रुखमा भगवती देवीको वास

प्रसिद्ध मनकाना मन्दिर दर्शन गर्न हजारौ भक्तजनहरु वर्षेनी गोरखा पुग्दछन् । पूजाआजा गर्दछन् । बली दिन्छन्। परेवा उडाउछन् । तर मन्दिर परिसरमा रहेको यो भिमकाय चाँपको रुखबारे कसैले पनि हेक्का राख्दैनन् र सोध्दैनन् पनि । तर, मनकामना मन्दिर अगाडी रहेको यो चाँपको रुख करिब ४ सय वर्ष भएको स्थानियबासीहरु बताउँछन्। पहेलो फुल फुल्ने यो चाँपको रुख उमेरका कारण बोक्राहरु चाउरिदै गए जस्तो देखिन्छ । स्थानियबासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ । जुन वासना लम्जुङ सम्म पनि पुग्दछ रे । उनीहरुका अनुसार हुरी बतास आउँदा धेरैपटक रुखका हाँगाहरु भाँच्चिए ।

तर, अहिलेसम्म मानविय तथा भौतिक नोक्सानी भएको छैन । त्यसैले यो रुखमा पनि भगवती देवीको वास भएको मानिन्छ । मनोकामना भगवति गोरखाको मनकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ । मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयम् मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ । दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ । यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। – नेपाल समाचारपत्र

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया