Hi-Speed Computer

Awareness Campaign

गुल्मीका विभिन्न ठाउँमा बाँदरको आतंक, मकै जोगाउन नसकेपछि गाउँ नै छाड्दै किसान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: धुर्कोट गाउँपालिका-६ कि पुतली पाण्डेय झिसमिसेमा उठेर आँखा मिच्दै बारीमा पुग्छिन्, बाँदरबाट मकै जोगाउन। तर घरबाट १० मिनेट टाढा, पैराचौरको बारीमा पुग्दा नपुग्दै बाँदर पसेर मकै खान शुरु गरीसकेको हुन्छ। हार गुहार गर्छिन, होहल्ला गर्छिन् तर बाँदरले टेर्दैन। एकदुईजना लोग्नेमान्छे आएभने बाँदर अलि तल जंगलसम्म गएर बस्छ। फेरी एकैछिनपछि बारीमा पसेर उस्तै चाल।

केहीबेरमा बुहारी विष्णुले खाना पकाएर पुग्छिन्, खाना पस्केर खान बस्यो बाँदर बारीमा पसिहाल्छ अनि जुठै हात दगुर्नुपर्छ । तीनचार पल्ट त फर्केर खाना खान बस्छिन तर एकातीर बाँदरले मकै सखाप पारेको पीर अर्कोतिर थकाईले अर्कोपटक भाग बस्न मन लाग्दैन । सासु बुहारीलाई पस्केको भात थालीमै बेलुका सम्म बारीको छेउँमा कक्रक्क देखिन्छ। ६० वर्षको बुढेसकालको ज्यान, दिनभरी बाँदर लखेट्न चिच्याउँदा चिच्याउँदै घाँटी सुकेर बोली बन्द हुन्छ। घरी बारी, घरी जंगल। भिर कान्ला दगुर्दा दगुर्दा थाकेर लखतरान परेर बेलुका रात परेपछि घर फर्कन्छिन्। पकाएर खान मन लाग्दैन।

‘वर्षभरी खाने खेती हो, दुईचारवटा बुटा बाँकी रहँदासम्म पनि चटक्कै मया मारेर बस्न सकिएन, न दिनभरी खानु छ न रातीमा सुत्नु’, आँखाका डीलमा आँशु टिलपिलाउँदै उनी भन्छिन्, ‘हाम्रो भन्नु त कोही पनि रहेनछ, न मकै जोगाउन सकियो, न ज्यान सञ्चो रह्यो ।’ करिब १ साता अघि, मकैले धान झुपुला गर्न थालेपछि हो, पुतला बिहान झिसमिसेमै बारीमा पुग्ने र राती अबेला मात्र घर फर्किने गर्न थालेको।

Forest
Forest
Ad.

दुई वर्ष अघि बाँदर लखेट्दा लखेट्दै बिरामी परेका छिमेकी गोपाल पाण्डेको पछि निधन नै भएको थियो । त्यसपछि उनीहरुले बारीमा मकै छर्न छाडेर अहिले बाँझै छ । ‘हाम्राबुढालाई लाई परार यही बाँदर हेर्दा काल पस्यो’, पाण्डेकी श्रीमती यमकला भन्छिन्, ‘अहिले यो जेठी (पुतला)ले न खान पाएकी छ, न सुत्न, चिन्ता लाग्छ।’

धुर्कोट गाउँपालिकमा बाँदरको समस्या समाधान गर्न पटक पटक किसानले कुरा पनि उठाए, तर अहिलेसम्म दिगो समाधानको उपाय निस्केको छैन । ‘गतवर्ष बाँदर लखेट्नको लागि हामीले ठूलो आबाजमा पड्कने बन्दुक किनेर पनि दिएका थियौं, तर यो वर्ष काम गरेन’, गाउँपालिका अध्यक्ष भुपाल पोखरेल भन्छन्, ‘यो विषयले हामी पनि तनावमा छौँ।’

उनका अनुसार प्रदेशले बन्दुक राख्ने कानून नबनाएसम्म अरु केही उपाय नभएको उनको भनाई छ । ‘निश्चित समयको लागि (मौसमी) भरुवा बन्दुक किनेर पड्काउन संघले कानून परिमार्जन गरिदिनु पर्यो, हाम्रो माग त्यही छ’, अध्यक्ष पोखरेलले भने । धुर्कोटमा मात्र होइन, गुल्मीका ९३ वडामध्ये एकाध बाहेक सबैमा बाँदरको समस्या छ।

मालिका गाउँपालिका ७ घमिरका वेदप्रसाद पन्थी आफ्नो ६/७ मुरी उब्जनी हुने मकैबाली बाँदरले पुरै सखाप पारेको बताउँछन् । निवर्तमान वडाध्यक्ष समेत रहेका पन्थीका अनुसार गाउँलेलाई बाँदर धपाउने धपेडीले खाने, सुत्ने समेत फुर्सद छैन । ‘देख्नेलाई पो के छ र, फलानोको मकै त बाँदरले झिम्रिक्कै पारेछ मात्रै भन्ने हो, तर वर्षभरी खाने अन्न सखाप हुँदा कुन पिडा छ भोग्नेलाई थाहा हुन्छ’, उनी भन्छन्, ‘भन्नु कसलाई भन्नु, हामी त रुनु कि हाँस्नु भएका छौं।’

Awareness by SKF

व्यवसायीक किसान समेत रहेका सत्यवती गाउँपालिका–१, अस्लेवाका वडाध्यक्ष अर्जुन कनौजे केहीदिन यता आफ्नो वडामा ५० रोपनी खेतको मकैबाली बाँदरले नष्ट गरेको बताउँछन् । ‘केहि समय पहिला केरा बाँदरले खाँदैनथ्यो र केरा खेती गरेको मेरो त घारी केरा नै बाँदरले सखाप पार्यो,’ कनौजे भन्छन्, ‘तपाईँ आफै किसान हो, किसान नै वडाध्यक्ष भएपछि समस्या समाधान गर्नुप¥यो भनेर दिनहुँ किसानहरु आउनुहुन्छ, तर बाँदर रोक्ने केही उपाय छैन ।’

पिडित किसानका अनुसार बाँदरले महिला र बालबालिकालाई टेर्दैन । ‘हामी त जति चिच्याएपनि बारीबाट निस्कनै मान्दैन’, धुर्कोट ६ कि विष्णु पाण्डे भन्छिन्, ‘पुरुषहरु आएर हो हल्ला गर्ने हो भने फेरी भाग्छ ।’बाँदरले दुःख दिएपछि गाउँको पुछारका गाउँलेहरु धमाधम बसाइ सरेर शहर पस्न थालेका छन् । छिमेकीहरु गाउँ छाडेर हिँडेपछि आफूपनि तराई झर्न बाध्य भएको मदाने गाउँपालिका–३, तिम्लेकी गीता लम्साल बताउँछिन् । ‘पुछारमा घरबारी छ, कहिले बँदेल, कहिले दुम्सी, कहिले बाँदरले हैरान पारेपछि बस्न सकिएन’, उनले भनिन्, ‘गाउँमा कोही नभएपछि आफूहरु बाध्य भएर कपिलवस्तु झरेका छौं ।’

स्थानीय तह स्थापना भएपछि बाँदरको समस्या समाधान गर्ने भनेर चुनावी एजेण्डा बनाए, बजेटमा कार्यक्रम पनि राखे तर न समस्या समाधान भयो न कुनै विकल्प नै दिए । चुनावको बेला नेताहरुले समस्या समाधान गर्छौं, गाउँ नछाड्नुस भनेकोले गाउँमै बसेको भएपनि चुनावपछि फर्केर नहेरेको लम्सालको गुनासो छ । उनका अनुसार आफूले अझै पनि केही उपाय भएमा फेरी गाउँ फर्किने सोँचमा रहेको उनी बताउँछिन् ।

‘चुनावमा सबै गर्छौं भने तर अहिले फर्केर हेरेनन’, लम्साल भन्छिन्, ‘यहाँ पनि गर्मी धेरै भएपछि हम्किने र बस्नेबाहेक अरु त छैन, नेताहरुलाई कि तारबार लगाइदिनुस् कि केही उपाय दिनुस गाउँ फर्कन्छु भनेका छौं तर कसैले उपाय लगाउन्नन्।’ जिल्लाको मालिका गाउँपालिकाले गतवर्ष बाँदर समाउने अभियान पनि चलाएको हो।अनौपचारिक स्रोतको जानकारी अनुसार अढाई सय बाँदर समएर खाडलमा पुरिए। तर यो वर्ष समस्या घटेन।

यो वर्ष वडा नं. ४ अर्खावाङमा प्रधानमन्त्री रोजगार कार्यक्रम र कोभिड प्रभावित अनुदान कार्यक्रमबाट बाँदर धपाउने मान्छे राखेको स्थानीय गोपाल केसीले बताए । मालिका ७ का निवर्तमान वडाध्यक्ष पन्थीका अनुसार ४/५ वर्ष अगाडिसम्म बाँदरको यस्तो आतंक थिएन । जव गाउँमाथिको जंगलमा आगलागी भएर त्यहाँभएका जंगली फलफूल सबै सखाप भए, त्यसपछि मात्र बाँदर किसानको बारीमा पस्न थालेको हो ।

‘पहिला पहिला यसरी सताउँदैनथ्यो, तर ३ वर्ष अघि जंगलमा आगोलागे पछि अहिले हाम्रा बारीमै बास बस्न थाल्थो’, उनले भने, ‘अब जंगलमा फलफुलहरु लगाएर पहिला जस्तै बनाउने हो भने केही राहत हुन्छ की, अरु उपाय त केही छैन।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया