तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतीक मान्दै प्रायः हरेक घरमा रोप्ने र पुज्ने गरिन्छ। घरमा तुलसीको मठ राखे सुख, समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा पनि प्रमाणित छ।
तुलसीमा रहेको औषधीय गुण मानव स्वास्थ्यमा बहुउपयोगी मानिन्छ। यसै कारण आयुर्वेदमा यसलाई महत्वपूर्ण जडीबुटीको श्रेणीमा राखिएको छ। सामान्य प्रयोगमा गाउँघरमा रुखाखोकी लाग्दा तुलसीका पात र दाना पकाएर खाने गरिए पनि यसको विविध औषधीय लाभबारे अनभिज्ञ हुने धेरै छन्।
हामी आँगनको एक कुनामा तुलसी रोपेर यसको लाभ लिन सक्छौँ। आँगनमा मठ राख्ने ठाउँ छैन भने कौसी वा छतमा पनि रोप्न सकिन्छ। यो सुगन्धित वनस्पतिले वायुमण्डलमा बहने दूषित हावालाई शुद्धीकरण गर्छ। तुलसी मात्र यस्तो वनस्पति हो, जसबाट आसपासको वातावरणमा विषाक्त कीटाणुनाशक गुण लगातार फैलिरहेको हुन्छ।
अध्ययन अनुसार ‘एन्टीअक्सिडेन्ट’ ले मुटुको समस्या, संक्रमण र कतिपय क्यान्सर हुने जोखिम घटाउन पनि सघाउँछ।
तुलसीको पात, बीउ, हाँगा, जरा आदि सबैजसो भाग औषधीय गुणले भरिपूर्ण मानिन्छन्। आयुर्वेदमा तुलसीको प्रयोगको कैयौं विधि बताइएको छ। तुलसीको पात काँचै चपाएर पनि खान सकिन्छ। पातको चूर्ण बनाई अदुवा, मरिच आदि मिसाई चिया बनाएर पिउँदा फाइदाजनक हुन्छ।
यसको उपयोगले पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने, झाडाबान्ता रोक्ने काम गर्छ। तुलसीको पत्ता र जिरा पिसेर दिनमा तीन/चार पटक खाँदा पखाला रोकिन्छ। “अजीर्ण, अरुचि जस्ता सामान्य समस्यादेखि मुटु, मिर्गौला, कलेजो जस्ता जटिल समस्यामा तुलसी उपयोगी हुन्छ”, डा. भट्टराई भन्छन्। उनका अनुसार तुलसीको पात सेवनले कलेजोको कार्यक्षमता बढाउँछ।
तुलसीका चार/पाँच वटा पात चपाएर खाएमा पेटमा भएका कीरा नष्ट हुन्छन्। सासको दुर्गन्ध नियन्त्रणमा पनि तुलसीको पत्ताले फाइदा गर्छ। आयुर्वेद ज्ञाताहरूका अनुसार तुलसीले छालाका सबै प्रकारका समस्या हटाउन मद्दत गर्छ। तुलसीको रसले मालिस गर्दा हड्डीहरू बलियो हुन्छन् भने छालाका दागहरू हटाई चमक समेत बढाउँछ।
तुलसीका पाँच प्रजाति भए पनि सेतो र कालो तुलसी प्रायः सर्वत्र पाइन्छ। यी दुई प्रजाति स्वास्थ्यका लागि लाभदायक हुन्छन्। वनस्पति विज्ञ डा. खेम भट्टराई तुलसीमा ‘एन्टीअक्सिडेन्ट’ नामक तत्व पाइने र यसले शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्ने बताउँछन्।
चिसो लागेमा वा हल्का ज्वरो आउँदा तुलसीको पात, मरिच र मिस्री पानीमा राम्ररी पकाएर बनाइएको काढा पिउँदा फाइदा हुन्छ। यसले चिसोका कारण हुने छातीको दुखाइ र कफ घटाउँछ। तपाईं नियमित तुलसी सेवन गर्नुहुन्छ भने चिसो हत्तपत्त लाग्दैन।
तातोपानीमा तुलसीलाई मिसाएर खाँदा टाउको दुखाइ, चिसोले नाक बन्द हुने समस्याबाट राहत मिल्छ। अध्ययनले खाली पेटमा नियमित दूधमा तुलसी मिसाएर खाँदा दम र श्वासप्रश्वास सम्बन्धी रोगबाट छुटकारा पाउन सकिने समेत देखाएको छ।
विभिन्न प्रकारका स्त्री रोगमा पनि तुलसी गुणकारी मानिन्छ। तुलसीको पत्ता र बीजको सेवनले मासिकस्रावको अनियमितता दूर गर्ने प्रमाणित भइसकेको छ। पुरुषहरूमा यौन दुर्बलता हटाउन तुलसीको बीजको नियमित सेवन प्रभावकारी हुने आयुर्वेदको अध्ययनमा उल्लेख छ।
सुत्ने बेला तुलसीको पाँच ग्राम बीउ तातो दूधसँग पिउँदा शारीरिक कमजोरी हट्छ। कपाल झर्नबाट रोक्न पनि तुलसीको पत्ताको धूलो उपयोगी हुन्छ। यसले टाउको चिलाउने समस्या कम गर्छ, शिरको रक्तसंचार बढाउँछ, जसबाट कपालले पर्याप्त पोषण पाउँछ र कपाल झर्न दिंदैन।
शरीरमा चोट लाग्दा तुलसीको पत्तालाई फिटकिरीसँग मिलाएर लगाउँदा घाउ छिटै निको हुन्छ। किनकि तुलसीमा एन्टी-,ब्याक्टेरियल तत्व हुन्छ, जसले घाउ पाक्न दिंदैन। यस बाहेक तुलसीको पातलाई तेलमा मिलाएर लगाउँदा जलन पनि शान्त हुन्छ।
तुलसीका यिनै बहुआयामिक फाइदाका कारण बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो उत्पादनमा तुलसीको प्रयोग गर्दै आएका छन्। यो खबर हिमाल खबर डटकमबाट साभार गरिएको हो।