Salime Malika Krishi Farm

Awareness Campaign

नवराज न्याैपाने ‘माैन’ को लघुकथा: बिदाइ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

हिमालपारीकाे एक सुन्दर गाउँमा जयबहादुरले बीस वर्ष पढाएर अवकाश लियाे। उसकाे बिदाइ कार्यक्रममा छवटै गाउँका मानिसहरू विद्यालयमा जम्मा भए। बिहान दस बजेबाट शुरु भएकाे कार्यक्रम साँझ छ बजेसम्म चलिरह्याे।

छ बजेपछि गाउँकाे सामुदायिक भवनमा बिदाइभाेजकाे कार्यक्रम राखियाे। बाइसवटा च्याङ्ग्रा र १४ बाेरा चामल ल्याएर गाउँलेले उसकाे सम्मानमा रातभर कार्यक्रम राखे। सबैले गाउँकाे समग्र विकासमा उसकाे याेगदानकाे चर्चा गर्दा उसका आँखा आँसुले भरिएका थिए।

जयबहादुरकाे एउटा आँखा थिएन। सबै गाउँहरूमा घुमेर उसले अपाङ्गता भएका, सुस्त मनस्थिति भएका र फरक क्षमता भएका व्यक्तिहरूकाे तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई नि:शुल्क पठनपाठन गराउन पहल गरेकाे थियाे। अनि , गाउँगाउँमा अनाैपचारिक शिक्षा (प्राैढ शिक्षा) पनि सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाे थियाे।

सिंचाई
Forest
Ad.

अपाङ्गता भएका व्यक्तिहरूलाई ऊ असाध्यै माया र सम्मानकाे दृष्टिले हेर्थ्याे। उसकाे बिदाइमा उनीहरू, भुरुधुरु राेएका थिए। शुरुका दिनमा एकान्त स्थलमा रहेकाे विद्यालमा एक्लै बसेकाे जयबहादुरलाई पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छाे नाम्ग्यालले आफ्नै घरमा ल्याएर राखेका थिए।

छाे नाम्ग्यालकी छाेरी साेनाम याङ्जी कान सुन्ने तर बाेल्न नसक्ने थिइन्। सबैले लाटी भनेर जिस्क्याउने गरेकाले उनी स्कुल जान छाडेकी थिइन्। जयबहादुरले नै उनलाई काठमाडौं पठाएर साङ्केतिक भाषा सिक्ने र लेखपढ गर्नसक्ने बनाएका थिए। छ महिनापछि फर्केर उनी पाँच कक्षामा भर्ना भइन् र राम्रो अङ्क ल्याएर एसईई उत्तीर्ण गरिन्। जयबहादुर सरकाे बिदाइमा सबैभन्दा दु:खी उनै थिइन्।

भाेलिपल्ट खाना खाएर विद्यालय परिवार, युवा क्लब परिवार र आमा समूह परिवार सबैले गाउँकाे पुछारकाे गेटसम्म पुर्‍याएर सगुन चढाए। अलिकति सगुन लिएपछि उसलाई रुन मन लाग्याे। आँसु पुछ्दै गर्दा साेनाम उङ्जीकी बहिनी छे आङ्माेले एउटा चिठी दिइन र ‘घर पुगेपछि हेर्नुहाेला है सर !’ भनिन्।

एक घण्टा हिडेपछि चाैतारीमा बसेर साेनाम याङ्जीकाे चिठी खाेलेर पढ्दा उसका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहे। चिठीकाे अन्त्यमा लेखिएकाे थियाे- ‘जय सर! मेराे मुटु हजुरसँगै पहाड झर्‍यो।’

Awareness by SKF

– नवराज न्यौपाने ‘मौन’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो