Place for ads

Awareness

गुल्मीकी कञ्चनको क्रान्ति: आमाको मृत्युपछि गरिन् काजकिरिया



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: २० बर्षीया कञ्चन रोका मगरले भर्खरै आमाको किरिया सकिन्। हाम्रो समुदायमा केश मुण्डन र सेतो वस्त्रलाई दुखसंग जोडिन्छ। तर, त्यसलाई कञ्चनले छोरा प्रवृति माथिको क्रान्ति भनिन्। परिवारमा छोरा नभएकोमा जीवन जीवन जस्तो नभएर चुक्चुकाइरहेका कैंयौं दम्पती छन् । छोरी भएकै कारण भ्रूणर् हत्या हुन्छ ।

नेपाली समुदायका कैयौँ संस्कार छोरा केन्द्रित छन् । तर, कञ्चनले पुरै कपाल फालेर किरिया बसिन् । ‘कतिपयले थोरै कपाल फाल्न पनि भने । मेरो मनलेनै मानेन,’उनले भनिन,‘कपाल फर्किन्छ आमा फर्किनु हुँदैन् ।’ मालिका गाउँपालिका ७ की कञ्चन चार छोरीहरु मध्येकी साँइली हुन । दुई जना दिदिहरुले बिहे गरे । परदेशी बुवा । आमा र सानी बहिनीसंगैको परिवार । उनले परिवारका सवै दुखमा असल छोरीको भूमिका निर्बाह गरिन् । बुबालाई कहिल्यै छोराको महसुस हुन दिइनन् ।

Get Vaccinated

सानैदेखि क्रान्तिकारी स्वभाव भएकी कञ्चनले छोराहरुमा मात्रै पौरख र संस्कारका कर्म निरन्तरता देख्ने पितृसत्तात्मक सोँच र समुदायका लागि आमाको उपचारदेखि घाट र किरियासम्म परिवर्तनको सन्देश प्रबाह गरेकी छन् । किरिया बसेकी कञ्चनको घरमा थुप्रै महिलाहरु आउँछन् । घरदेखि पधेँरासम्म महिलाहरुकै सहयोग पाएकी छन् । किनकी कञ्चनको आमा हुमकला गाउँका थुप्रै समुह र संघसंस्थाको अगुवा थिइन् ।

क्षेत्री र ब्रहामण जातीको बाहुल्यता भएको गाउँमा मगर चेलीले देखाएको क्रान्तिबाट समुदायनै खुसी छन् । ‘छोराछोरीमा केहि फरक छैन । फरक त केवल हाम्रो सोँच हो,’उनले भनिन,‘सवैको स्याबासीले पीडामा पनि उर्जा थपेको छ ।’ स्थानीय तथा अगुवा समाजसेवी सन्तोष लम्सालले दुखद क्षणमा कञ्चनले गरेको सुखद क्रान्तिको सम्मान गरे । छोराहरुले मात्रै चलाउन पर्ने किरिया कर्मको गलत सोँचलाई कञ्चनले तोडेको लम्सालले बताए । बुबा तारा बहादुर रोकामगरले पनि आफुहरुले कहिल्यै छोराको महसुस गर्न नपरेको बताए । आमाको उपचारदेखि किरियाकर्मसम्म छोरीले देखाएको उर्जा र हिम्मतले आफु निकै प्रभावित भएको प्रतिक्रिया मगरले दिए ।

‘आँसु लुकाएर आमा र आफन्त सम्झाएँ’
कञ्चनको हजुरआमा ७२ बर्षीया ओमकुमारी रोकामगर बिरामी थिइन् । बुटवलमा महिनादिन उपचारपछि ज्यान २८ साउनमा ज्यान गयो । घरमा आमा ४५ बर्षीया हुमकला बिरामी परिन् । परदेशबाट बुबा तारा बहादुर रोकामगर घर आए । तीन दिनपछि आमाको किरियामा बसे । कञ्चनलाई हजुरआमाको शोकमा आमा बिरामी भएको पीडा थियो ।

उनले २ भदौमा आमालाई उपचारको लागि गुल्मी अस्पताल तम्घास पुराइन् । जण्डिसले गालेकाले डाक्टरहरुले तुरुन्त बुटवल लैजान सुझाव दिए । कञ्चनलले एक्लै एम्बुलेन्स र पैसाको जोहो गरेर बुटवल लगिन् । अवस्था झनै बल्झिएपछि बुटवलबाट पनि डाक्टरहरुले काठमाण्डौ जान भने । कञ्चनको मनमा चिसो पस्यो । आमा अवस्था । कहिल्यै नपुगेको काण्माण्डौ र उपचार । कञ्चनले हिम्मत जुटाइन र हतपतमा आमालाई दौडाएर काठमाण्डौ पुराइन् । काठमाण्डौ त पुराइन तर डाक्टर झस्किए । अवस्था गम्भिर भएको सुनाएँ । कञ्चनको खुट्टा सेलाउँदै गए । अस्पतालले कहिल्यै सुखद कुरा सुनाउन सकेन ।

Awareness by SKF

डाक्टरहरुले आफन्तहरु भेट्न लगाए । कञ्चन आफुले बुझ्थिन तर, आमालाई भन्थिनन् । घरबाट बुवालाई बोलाइन् । फोनमा सानी बहिनीसंग केहिबेर बोलेपछि आमा शिथिल बनिन् । अवस्था बल्झिदै गएपछि अस्पतालले भेन्टिलेटरमा राख्ने वा नराख्ने भने । तर, कञ्चनले झिनो आशा गर्दै राखिन । आमाको पीडा अचाक्ली थियो । उनले डाक्टरलाई दुखाई कम गर्न भन्थिन ।

त्यसका लागि १० हजार खर्चेर औषधी ल्याइन । रगत खोजिन, औषधीको दौडधुप र न भोक न निद्रा । कञ्चनले आमाको माया मारिन । आमाले भेट्न पुगेका श्रीमान चिनिनन् । कञ्चनले शिथिल बुवालाई उर्जा भरिन र भनिन्,‘बुबा जीवन हो भोग्नपर्छ, म छु केहि चिन्ता नलिनुस् ।’ अन्तत १३ भदौमा अस्पतालले कञ्चनलाई आमा नभएको सुनाए । केहिबेर स्तब्ध बनिन् । तर, आँसु लुकाएर बाबा र आफन्त सम्झाइन् ।

‘आमाको मंगलशुत्र बुझेपछि मुर्छा परेँ’
घर व्यावहार बुझेकी कञ्चन । छोरीहरुको भविष्य सम्झिएका बाबा-आमा । उनलाई आफुहरुको सधै खुसी खोज्ने आमाको गलामा मंगलशुत्र देख्ने रहर थियो । एकदिन कञ्चनलेनै जोड गरेर आमालाई मंगलशुत्र लगाइदिएकी थिइन्। बिरामी आमा थला पर्दै गएपछि कञ्चनलाई अस्पतालले बोलाएर त्यहि मंगलशुत्र हातमा दिए र कागज गराए।

अस्पताल अध्याँरो बन्यो । केहि सोच्न सकिनन् । उनले आफैले जिद्धि गरेर आमाको घाँटीमा पहिर्याइदिएको पलको स्मरण गरिन् । मनले माया मार्यो । फर्किदा आमाको याद र त्यहि मंगलशुत्र मात्रै रह्यो । ‘घरदेखि काटमाण्डौसम्म सयौ पीडा खेपेँ । तर, अस्पतालले मंगलशुत्र बुझाउँदा मुर्छा परेँ,’उनले भनिन,‘आमा छोडेर गहना मात्रै बोकेर फर्किनुपर्नेमा विश्वस्त भएँ ।’

COVID-19

‘शोक र पीडाले कठोर बनायो’
कञ्चनले आमा मरेपछि बाबा सम्झाइन। त्यसपछि बाबाले कञ्चनलाई सोधे कसरी दाहा संस्कार गर्ने भनेर। कञ्चनले काठमाण्डौनै मृत्यु भएकाले पशुपतिनै लैजाने भनेर बुबालाई सहमत गराइन् । त्यसपछि आफन्तमा दागबत्तिको चर्चा चल्यो । कञ्चन आफैले आमाको दागबत्ति र किरिया गर्ने निणर्य सुनाइन् । कञ्चनको शाहसमा कसैले टिप्पणी गरेनन्।

अस्पतालदेखि घाटसम्मको व्यावस्थापनमा सक्रिय कञ्चनले आमाको दागबक्ति दिइन् । उनले २८ साउनमा मृत्यु भएकी ७२ बर्षीया हजुरआमा ओमकुमारी रोकामगरको पनि दागबत्ति दिएकी थिइन् । ‘आफ्नै आमालाई आगो लगाउँदा पनि एक थोपा आँसु झरेन । मैले शोक भन्दा छोरा सरहको बाँकी कर्म सम्झेर कठोर थिएँ,’ उनले भनिन, ‘हजुरआमाको शव पनि मैलै नै हस्ताक्षर गरेर बुझेकी हुँ।’ दाहासंस्कार गरेर घर फर्किदाँ दिदिहरु पीडाले अचेत थिए। कञ्चनले दिदिहरुको शोकलाई पनि शक्तिमा बदल्ने हिम्मत दिइन् । २० बर्षीया कञ्चन रोका मगरको मनमा आमाका अतित छन् । तर, अब देख्नको लागि दैलो नजिकको तस्विर बाहेक अरु केहि छैन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो