Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सडक बालबालिकाको समस्या थप जटिल बन्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्तोष महतारा, गुल्मी: एकीकृत व्यवस्थापन हुन नसक्दा जिल्लाको तम्घासमा सडक बालबालिकाको समस्या जटिल बन्दै गएको छ। सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।

गुल्मीमा भएका सडक बालबालिकाको पहिचान गरी तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा होस्टेल निर्माण गरिएको थियो। छ महिनाका लागि व्यवस्थापन गरेर सदरमुकामका विद्यालयले पढाउने जिम्मा लिए पनि बालबालिका पुनःसडकमै फर्किएका छन्।

महेन्द्र मिनी होस्टेलमा सडक बालबालिका व्यवस्थापनको समयमा श्रेय लिनेको होडबाजी चलेको थियो। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बालबालिका राखिने होस्टेलमा फलफूल र मिठाइ बाँड्नेको लस्कर हुन्थ्यो तर अहिले बालबालिका सडकमै फर्किपछि कोही त्यसको जिम्मा लिन तयार देखिँदैनन्।

सिंचाई
Forest
Ad.

बालबालिका व्यवस्थापनका क्रममा महेन्द्र नमुना माध्यमिक विद्यालयमा सात जना, सिद्धबाबा माध्यमिक विद्यालयमा तीन जना, रेसुङ्गा माध्यमिक विद्यालयमा दुई जना, उपल्लो तम्घास माध्यमिक विद्यालयमा दुई जना र बालमन्दिरमा दुई जना सडक बालबालिका अध्ययनका लागि व्यवस्थापन गरिएको थियो। बाँकी दुई जना विद्यालय गएनन्।

महेन्द्र मिनी होस्टेलको नाममा बालबालिका व्यवस्थापन गर्दा झन्डै रु १२ लाख खर्च भएको थियो । रेसुङ्गा नगरपालिकाको रु तीन लाख ५० हजार, मालिका गाउँपालिकाको रु तीन लाख, धुर्कोटको रु एक लाख ५० हजार, इस्माको रु एक लाख ५० हजार, मदानेको रु ५० हजार र शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीको रु एक लाख ७६ हजार गरी कूल ११ लाख ७६ हजार खर्च भएको छ।

अभिभावकको गैरजिम्मेवारीपन, सरोकारवाला निकायको अल्पकालीन निर्णय र विद्यालयको कमजोरीका कारण विद्यार्थी बनेका बालबालिका फेरि सडकमा फर्किएका छन् । अल्पकालीन व्यवस्थापन गरेर श्रेय लिनेको होडबाजी चले पनि सम्बन्धित पालिकामै नयाँ कार्यक्रम ल्याएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे जोड दिनुहुन्छ ।

दिनभर तम्घास बजारमा डुलेर मागेको पैसाले कतिपय सडक बालबालिकाले घरखर्चसमेत चलाउने गरेका छन् । उनीहरु दिनभर चिदिचौर खेलमैदान, बसपार्क क्षेत्र र तम्घास बजारमा पैसा माग्ने गर्दछन् र साँझ घर फर्किने बेलामा कतिपयले घरमा बाबुआमा खुसी बनाउन अण्डा, चाउचाउलगायत अन्य खानेकुरा किनेर लैजान्छन् भने कतिपयले आफैँलाई खान चाउचाउ, चुरोट, भोलादेखि थरिथरिका मिठाइ किन्ने गरेको पाइन्छ।

Awareness by SKF

कतिपय बालबालिका परिवारकै कारण सडकमा पुगेका छन् । तम्घास बजारमा खुलेर सबै शब्द बोल्न नसक्ने मनिष सुनारले बुबाको कुटाइका कारण दाजुहरुसँग सडकमा बस्ने गरेको बताए । “विद्यालय जान, पढ्न अनि खान मन लाग्छ”, तोते बोल्दै उनले भने, “बाबाआमाले माया गर्नुहुन्न, घरमा खान दिनुहुन्न ।” मनिष मायालु भएकाले देख्नेले पाँच/दश रुपैयाँ दिन्छन् । मनिषको पनि विगत डेढ वर्षदेखि सडकमै बास छ।

उमेरले छ वर्ष पुगेकी सलिना नेपाली पनि बाबुआमाले हेपाइका कारण अन्य सडक बालबालिकाकै समूहमा मिसिन पुगिन् । बजारमा हिँड्नेहरुको खुट्टा समाउँदै उनीहरुले दिएको पैसाले खानेकुरा किनेर घर लैजान्छिन् । उनकै कमाइले परिवारको हातमुख जोडिएको छ । “बाबाले कसैलाई नाम भन्ने र बाबाआमा चिनाएमा पिट्छु भन्नुहुन्छ”, उनले भनिन्, “विद्यालय जान नदिएर बजारमा पैसा माग्न पठाउनुहुन्छ ।” खानेकुरा लिएर गए मात्र घरमा बास पाइन्छ उनले भनिन्।

समूहका नाइके हुन् सागर नेपाली। उनको समूहमा १० जना बालबालिका छन्। दश वर्षका उनी समूहमा आइपर्ने समस्याको समाधान गर्दछन्। उनले सडकमा माग्दै हिँड्नुलाई आफ्नो अधिकार ठान्छन् । पढ्ने र लेख्ने सम्बन्धीका कुरामा आफूलाई ध्यान नजाने र बाबुआमाले पनि नपठाउने सागरको भनाइ छ । यो समूह बिहानको झिसमिसेमा बजार निस्कन्छ । झमक्क साँझ परेपछि घर फर्किन्छन् । बसपार्कमा केहीको घर भए पनि केही अस्थायीरुपमा बस्छन् ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले सडक बालबालिकाको व्यवस्थापन हुने बताउनुहुन्छ। बालबालिकाको बानीमा सुधार ल्याउने गरी अर्धवार्षिक व्यवस्थापन भएको र विद्यालयसम्म बालबालिका पुर्याएको खत्रीले बताउनुभयो। पुनःसडकमा फर्किएका बालबालिकाको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गरेर छाड्ने उहाँको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया